०४ चैत २०८२ , बुधबार

के भनेर फर्किइन् प्रधानन्यायाधीस शितल निवासबाट ?

काठमाडौं, वैशाख २४– ब्यवस्थापिका संसदबाट महाअभियोग लागेपछि निलम्बित प्रधानन्यायाधीस सुशीला कार्कीले पुनः कार्यभार सम्हालेकै दिन आइतबार बेलुका राष्ट्रपति भवन शितल निवास पुगिन् ।

प्रधानन्यायाधीस कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र त्यसमाथि अदालतले दिएको आदेशपछि विकसित घटनाक्रममाथि राष्ट्रपतिसँग छलफल हुने बताइएको थियो ।

सर्वोच्चले महाअभियोग प्रस्ताव अगाडि नबढाउन आदेशदिएपछि आइतबारबाट आफ्नो काममा फर्केकी कार्की विदामा बस्ने चर्चा चलिरहँदा बेलुका एक्कासी शितल निवास पुगेकी थिइन् ।

कार्की राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी वैशाख २६ गते कानून दिवसको कार्यक्रमका लागि निमन्त्रणा दिएर फर्किएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले रातोपाटीलाई जानकारी दिए । प्रधानन्यायाधीस कार्की राष्ट्रपतिलाई कानून दिवसको कार्यक्रमको निम्तो दिन मात्रै आएको शर्माले बताए ।

प्रधानन्यायाधीस कार्की ६५ वर्षे उमेरहदका कारण जेठ २५ गतेबाट सेवा निवृत्त हुँदैछिन् । सामान्यतः सेवा निवृत्त हुनुभन्दा एक महिना अगाडिबाट प्रधानन्यायाधीस विदामा बस्ने चलन छ । साही परम्परालाई आत्मसाथ गरेमा प्रधानन्यायाशीस कार्की सोमवार बैशाख २५ गतेबाट नै विदामा बस्नेछिन् ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका २ सय ४९ सांसदले गत आइतबार प्रधानन्यायाधीश कार्कीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । तर अधिवक्ताद्वय कञ्चनकृष्ण न्यौपाने र सुनीलरञ्जन सिंहले महाभियोग प्रस्ताव खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

शुक्रवार न्यायाधीस चोलेन्द्रशमसेर जवराको इजलासले संसदमा दर्ता गरिएको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन र कार्कीलाई काममा फर्किन अन्तरिम आदेश दिएको थियो ।

अदालतको आदेशपछि ब्यवस्थापिका संसद र सर्वोच्चबीचको टकराव बढेको छ । आइतबार मात्रै सभामुख ओनसरी घर्ती अदालतले संसदको अधिकारमाथि हस्तक्षेप गरेको प्रतिक्रिया दिएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *