०४ चैत २०८२ , बुधबार

मतसँगै जनताको समस्या समेत संकलन गरिरहेको छु

कृष्णहरि थापा
मेयर उम्मेदवार एमाले, कागेश्वरी मनोहरा नगरपालिका

पिता टीकाबहादुर थापा तथा माता डम्बरकुमारीको कोखबाट बि.सं २०१८ सालमा गोठाटारमा जन्मनु भएका हो कृष्णहरि थापा । उहाँ विद्याथी जीवनदेखि  राजनीति संलग्न हुँदै पार्टीमा सक्रिय सक्रिय हुनुभयो र पंचायतकालमा भूमिगत जीवन समेत बिताउनु भयो । २०५४ सालको स्थानीय चुनावमा उहाँ गोठाटार गा.वि.स.मा एमालेबाट अध्यक्षको उम्मेदवार भई सर्वाधिक मत ल्याएर विजयी हुनुभयो । गा.वि.स अध्यक्षको जिम्मेवारी समालेपछि गोठाटारको विकास निर्माण लगायतका कार्यमा सक्रियताका साथ लागि पर्नुभयो । उहाँकै सक्रियताले गोठाटारले विकासमा फड्को मा¥यो । काठमाडौको पूर्वी भेगमा गोठाटार अहिले नमूना बनेको छ, त्यहाँका बासिन्दाले त्यसको श्रेय कृष्णहरि थापालाई दिएका छन् । उहाँ एमाले केन्द्रिय सहकारी विभागका सदस्य तथा काठमाडौं जिल्ला कमिटी सदस्य हुनुहुन्छ । लायन्स क्लब इन्टरनेशल, काठमाडौंमार्फत सामाजिक सेवाको समेत क्रियाशील हुनुहुन्छ । नगरको समृद्धि र विकासका निम्ति ‘‘स्वच्छ सफा हराभराः कागेश्वरी मनोहरा’’ भन्ने मूल नारासहित उहाँ अहिले कागेश्वरी मनोहरा नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी हुनुहुन्छ । प्रस्तुत छ, उहाँसँगको कुराकानी

कागेश्वरी–मनोहरा नगरपालिकामा तपाईंलाई एमालेले नगर प्रमुखको रुपमा अघि सारेको छ, कस्तो महसुश गर्नु

भएको छ ?

यतिबेला राष्ट्रिय राजनीतिसँगै मुलुकको विकास र समृद्धि नेतृत्व नेकपा एमालेले गरिरहेको छ । संविधान निर्माण र कार्यान्वयनको अगुवाई, नाकाबन्दीको सामना गर्दै राष्ट्रिय हितको रक्षा र समृद्ध नेपाल र सुःखी नेपालको स्पष्ट योजनाका साथ अघि बढिरहेको पार्टी एमालेले २० वर्षपछि हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा मलाई यस नगर प्रमुखका रुपमा विश्वासका साथ उम्मेद्वार चयन गरेकोमा खुशी लागेको छ । तर, म एउटा पार्टीको प्रतिनिधि हुँ । निर्वाचनमा हाम्रो पार्टी नेकपा एमाले चुनावी प्रतिस्पर्धाको मैदानमा छ । म जतिकै सक्षम र योग्य साथीहरु पार्टी नेताको हैसियतमा राजनीतिक नेतृत्वमा हुनुहुन्छ । उहाँहरुको नेतृत्वमा सैयौं कार्यकर्ताको पंक्ति, पार्टीका समर्थक, शुभेच्छुकहरुसहितको समग्र टिम चुनावी प्रतिस्पर्धामा अघि बढिरहेका छौं । गागलफेदी, भद्रबास, आलापोट मूलपानी, डाँछी, गोठाटारलगायतसबैतिर एमालेको पक्षमा व्यापक माहौल सिर्जना भइरहेको छ । जनताको अपार समर्थनमा चुनावी प्रचारको काम तीब्र ढंगले अघि बढिरहेको छ ।

माहौल सिर्जना भएको कुरा गर्नुभयो तपाईंको जितका आधारहरु के–के हुन् ?
पहिलो कुरा, एमालेको स्पष्ट राजनीतिक दृष्टिकोण, विकास र समृद्धीको सुस्पष्ट योजना नै जितको आधार हो जस्तो मलाई लाग्छ । पटक–पटक नेतृत्व गर्ने अवसर पाए पनि मुलुकलाई अस्थिरतातिर धकेल्ने, जनताका अधिकार कुण्ठित गर्दै लोकतन्त्रमाथि संकट सिर्जना गर्ने कामको अगुवाई कांग्रेसले गर्दै आएकाले यतिबेला सिंगो मुलुक एमालेमय बन्दै गएको छ । सबैलाई थाहा भएको कुरा हो कि २० वर्षपछि हुन लागिरहेको स्थानीय तहको निर्वाचन पनि एमालेकै एजेण्डा हो । पार्टी अध्यक्षको नेतृत्वको सरकारले एक वर्ष पहिल्यै स्थानीय तहसहित तीनवटै तहको निर्वाचनको कार्ययोजना सार्बजनिक गरेर संविधान कार्यान्वयनको रोडम्याप अघि सारेको जनतामा सर्ब्बिदितै थियो । त्यसैले हाम्र्रै दबाबमा यो चुनाव हुन लागिरहेको तथ्य बुझेका जनता एमालेको सूर्य चिन्ह्मा मतदान गर्न आतुर छन् । समाजका हरेक पिछडिएका वर्ग र समूदायलाई लोककल्याणकारी राज्यको अनुभूति दिलाउनेगरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था, स्थानीय तहमा व्यापक बजेट बिनियोजन गर्दै जनताको सहभागितामा विकास अभियानको आरम्भ पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले गराउनुभयो, जो यस क्षेत्रबाटै निर्वा्चित पूर्व जनप्रतिनिधि हुनुहुन्थ्यो । त्यतिमात्रै होइन, स्थानीय तहमा समावेशी प्रतिनिधित्व गराउने व्यवस्था स्थानीय स्वशासन ऐनमार्फत एमालेकै नेतृत्वमा सुरु भयो र अहिले ५० प्रतिशतसम्म महिला नेतृत्वको सहभागिताको सुनिश्चितता भएको छ । अर्को कुरा, ०५४ सालमा गोठाटार गाविस अध्यक्षमा निर्वा्चित भएपछि मैले यस क्षेत्रको विकासको अगुवाई गरेको छु । गागलफेदीदेखि गोठाटारसम्मका ६ वटै साविकका गाविसका हरेक समूदायका जनताका समस्या र चाहनालाई मैले प्रत्यक्ष अनुभूति गरेको छु, त्यसैले यस क्षेत्रको मूहार फेर्ने सुस्पष्ट विकासको एजेण्डा पार्टीले अघि सारेका कारण एमालेको विजय सुनिश्चित रहेकोमा म पूर्ण विश्वस्त छु ।

विजयप्रति विश्वस्त देखिनुभयो, निर्वाचनमा विकास र समृद्धिका के–के एजेण्डा अघि सार्नुभएको छ ?
कागेश्वरी मनोहरा नगरपालिका साविकका गोठाटार, मूलपानी, डाँछी, भद्रबास, आलापोट र गागलफेदी गाविस मिलेर बनाइएको छ । यी ६ मध्ये साविकका गोठाटार, मूलपानी डाँछी गाउँमा पछिल्लो समय तीब्र रुपमा शहरीकरण भइरहेको छ । त्यसलाई व्यवस्थित शहर बनाउने उदेश्य लिएको छु । भद्रबास, आलापोट र गागलफेदी कृषिको उपयुक्त रु उर्वर छ, ती ठाउँँलाई आधुनिक शैलीले व्यवसायिक खेतीतर्फ लैजाने मेरो लक्ष्य छ ।
हामीले नगरपालिका भित्रका सबै वडामा १० देखि १५ शैयाको अस्पताल बनाउने योजना छ । त्यसको साथै सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र सरसफाई मेरो प्राथमिकता हुनेछ ।
‘‘स्वच्च, सफा हराभरा ः कागेश्वरी मनोहरा’’ मूल नाराका साथ हामीले यस क्षेत्रको विकास र समृद्धिका लागि प्रतिबद्धतापत्र सार्बजनिक गरेका छौं । सालीनदीको ऐतिहासिक पक्ष जोडिएको शंखरापुर नगर र कागेश्वरीदेखि विश्वसम्पदा सूचीको पशुपतीनाथ मन्दिरसम्म सिमा जोडिएको कागेश्वरी–मनोहराको ऐतिहासिक र सांस्कृतिक पक्षलाई सम्बद्र्धन गर्दै समृद्ध नगर बनाउने मेरो योजना छ । भुकम्पको जोखिमरहित भवन निर्माण, सरकारी जग्गाको समुचित व्यवस्थापन र उपयोग, सडक, पूर्वाधार विकास, ढल निकाल र खानेपानी व्यवस्थापन, भ्रष्ट्राचारमुक्त सुशासन, सामूदायिक क्याम्पस र सरकारी विद्यालयहरुको स्तरोन्ती र गुणस्तर अभिवृद्धी, ऐतिहासिक सम्पदा र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन, स्वास्थ्य, सुरक्षालगायतका विषयलाई मैले प्राथमिकताका साथ एजेण्डा बनाएको छु । तुल्सी गान्धी क्याम्पस, कान्तिपुर र शहिद आदर्श क्याम्पसमा मानविकी, शिक्षा संकायसँगै एमएसी तहसम्म विज्ञान र इन्जिनियरिङ अध्यापन गराउनेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ । क्यापसहरुमा स्नताकतर्फ पत्रकारिता शिक्षा अध्यापन बिस्तारमा विशेष जोड दिइनेछ । त्यस्तै, एक वडा एक पार्कको स्थापना, वृद्ध, अपांग, एकल महिलाहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण, पशुपतिनाथदेखि कागेश्वरी महादेव मन्दिरसम्म परिपथ निर्माण, स्थानीय सडक र ढल निर्माणमा जनतासँग साझेदारी, कागेश्वरी चक्रपथ मार्गको स्तरोन्ती, नगर बस संचालन, प्रत्येक वडामा नगर स्वास्थ्य सूचना प्रविधिमा आधारित सेवा प्रणाली, एकीकृत जग्गा विकासको व्यवस्थित योजना अघि बढाउनेलगायतका काम तत्काल अघि बढाउने मेरो योजना छ ।

तपाईंका योजना केवल जितका लागि बाँडिएको आश्वसन मात्रै हो कि, ती पूरा गर्ने आधार पनि छन् ?
एमाले योजना मात्रै बाँड्ने पार्टी होइन । केन्द्रिय सरकारमा होस् या स्थानीय निकायको सरकारमा, एमाले नेतृत्वले गरेको काम र कांग्रेसले गरेको कामबीच तुलना गर्न जनता स्वयं सक्षम छन् भन्ने लाग्छ । त्यसैले यस विषयमा धेरै ब्याख्या गरिरहनुपर्छ जस्तो मलाई लाग्दैन । मेरा जति पनि प्रतिबद्धता छन्, ती अरु पार्टीले बाँडे जस्तो आश्वसन होइन भन्ने अर्थमा बुझिदिनु हुन म कागेश्वरी–मनोहराका जनतालाई विनम्रतापूर्वक अपिल गर्न चाहान्छु । मेयरमा निर्वा्चित भएपछि मेरो पहिलो काम अहिले प्रतिबद्धतामा उल्लेख गरिएका योजना पूरा गर्नका लागि ‘वार्षिक क्यालेण्डर’नै निर्माण गरेर काम सुरु गर्नेछु । त्यसबाट जनताले ६ महिनाभित्रै काम भए÷नभएको प्रत्यक्ष अनुभूति गर्न सक्नेछन् । जनतालाई भ्रष्ट्राचारमुक्त छिटो–छरितो सुशासनको अनुभूति दिलाउन नियमति अनुगमनको व्यवस्था गर्नेछु । नगरको प्रशासनिकदेखि सबै काम पारदर्शी बनाउन नियमित रुपमा नगरले गरेका काम सार्बजनिक गर्ने र जनताबाट सुझाव लिने काम सुरु हुनेछ । अर्को हिसाबले भन्दा संविधानले प्रत्याभूत गरेको सूचनाको हकको जनताले प्रत्यक्ष रुपमा अनुभूति गर्न पाउनेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ । अर्को कुरा, संवैधानिक हिसाबले अहिलेको स्थानीय तह जनताले घर–घरमा सुशासनको अनुभूति गर्ने धेरै शक्तिसाली सरकार हो । शिक्षा, स्वास्थ्य, खानेपानी, सहकारी, कर प्रणाली, मालपोतलगायतका सबै अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरिएका कारण घोषणापत्र विगतको संसदीय निर्वाचनमा बाँडिएको आश्वासन जस्ता पनि लाग्नसक्छन्, तर यथार्थमा स्थानीय तहले प्राप्त गरेको अधिकारका हिसाबले जनताले मनन् गर्ने हो भने मैले अघि सारेका धेरै एजेण्डाहरु २÷३ वर्ष्भित्रै पनि पूरा गर्न सकिने खालका छन् ।

चुनावी प्रचार अभियान कसरी अघि बढिरहेको छ ?
उपमेयरसहित मैले गागलफेदी, आलापोट, भद्रबास, डाँछी मूलपानी, गोठाटार लगायतका सबै ठाउँमा एक चरणको घरदैलो अभियान सकिसकेको छु । त्यसबीचमा मतदाताको घरघरमा गएर मत माग्ने काम भएको छ । यसरी डुल्दा मैले त्यहाँका समस्या समेत बुझने मौका पाएको छु । पार्टी नेता तथा सांसद रामेश्वर फुयाँलले समग्र अभियानको नेतृत्व गरिरहनुभएको छ । जिल्ला कमिटी सदस्यहरु रामशरण ढुंगना र मणिराम फुयाँल रहेको चुनावी परिचालन कमिटीले घरदैलो अभियानसहित सबै कामको ‘कमाण्डिङ’ गरिरहेको छ । युवा, विद्यार्थी, वृद्ध बा–आमा, दिदीबहिनी दाजुभाईसहित पार्टी कार्यकर्ताको सैयौं पंक्ति चुनावमा परिचालित छ । कागेश्वरी मनोहरा नगर पालिकामा २७ हजार ९ सय २४ मतदाता छ ।  यतिखेर सबै मतदाता एमालेको पक्षमा  जुरुक्कै उठेका छन् ।

यहाँको प्रतिस्पर्धाको सँग हुँदैछ ?
राष्ट्रियता र मुलुकको समृद्धिको लागि एमालेले खेलेको भूमिका र यस नगरपालिकामा पार्टी तथा व्यक्तिगत रुपमा भइरहेको मेरो सक्रियताको हिसाबले हर्ने हो भने त यहाँ मेरासँग ठक्कर गर्ने खालको प्रतिस्पर्धी नै छैनन भन्दा हुन्छ । राजनीतिक र विकासका एजेण्डाका हिसाबले भन्ने हो, यस नगरभित्रका ठूला विकासका काममा केन्द्रीय तहबाट विकास बजेट विनियोजन गर्नेदेखि टोलसम्मका विकासका अधिकांश काम एमालेकै अगुवाईमा हुँदै आएको छ  तर पनि मैले नेपाली काँग्रेसका उम्मेदवारलाई आफ्नो प्रतिद्धन्द्धी ठानेको छु । राष्ट्रियता, संविधान कार्यान्वयनको सवालमा कांग्रेस नेतृत्वले देखाएको मौनता, देशलाई अस्थिरतातर्फ धकेल्न राज्यका अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच सिर्जना गरिएको अस्वभाविक द्वन्द्वका कारण प्रजातन्त्रप्रति आस्थावान इमान्दार कांग्रेसका मेरा धेरै मित्रहरु यस पटक त्यो पार्टीलाई सवक(पाठ) सिकाउने पक्षमा रहेको मैले पाएको छु । त्यसैले अत्याधिक बहुमतका साथ विजय हुनेमा म ढुक्क छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *