काठमाडौँ ७ जेठ – सरकारले आर्थिक वर्ष २०७४÷०७५ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्रीे निवासमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम आइतबार बेलुका नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गर्ने निर्णय गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता सुरेन्द्रकुमार कार्कीले नीति तथा कार्यक्रममा राष्ट्रिय महत्वका ठूला परियोजना समावेश गरिएको बताए । मन्त्री कार्कीका अनुसार स्थानीय तहको निर्वाचन सम्पन्न गर्न र अरू दैनिक कामका लागि बजेट छुट्याइनेछ । नीति तथा कार्यक्रम आंशिक बजेट अन्तर्गत जेठ १० भित्र नै राष्ट्रपतिबाट व्यवस्थापिका–संसदमा पेस हुने उनले जानकारी गराए ।
मन्त्री कार्कीका अनुसार सरकारले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनका साथै राष्ट्रिय परियोजना र राष्ट्रिय पुनः संरचनालाई तीव्रता दिनेतर्फ केन्द्रित भइरहेको छ । “बजेटबारेमा नेकपा एमाले लगायत प्रतिपक्ष दलको केही असहमति छ‘ उनले भने–“हामी त्यस बारेमा निरन्तर अन्तरसंवादमा छौँ, हिजो मात्रै प्रमुख तीन दल बीच छलफल भएको छ, छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ ।







