
काठमाडौैं १५ जेठ – भरतपुर महानगरपालिकाले मत गणना अन्यौलमा परेको छ । गणना अन्तिम चरणमा पुगिरहेको बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि अन्यौल भएको हो ।
नगरको वडा नम्बर १९ को मतगणना भइरहँदा माओवादी प्रतिनिधि द्रोण सिवाकोटीले आइतवार मध्यराती मतपत्र च्यातेको चितवका प्रहरी प्रमुखले बताएका छन् ।
‘मतपत्र च्यातेका सिवाकोटी पकाउ परिसकेका छन्’ प्रहरी प्रमुखले भने– ‘सिवाकोटीले मतपत्र च्यातेको स्वीकार गरिसकेका छन्, कस्ले च्यात्यो भनेर विवाद गर्नुपर्ने अवस्था रहेन ।
मतपत्र कसले च्यात्यो भन्ने बारेमा विवाद रहेन । विवाद पुनः मतगणना कि पुनः मतदान गर्ने भन्ने हो ।’
चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादीले चुनाव हार्ने निश्चित भएपछि गढबढी गरेको बताएका छन् । ‘भोट गन्दै जाँदा मत आफ्नो पक्षमा नदेखिएपछि माओवादी प्रतिनिधिहरुको अनुहार कालो र निलो भइसकेको थियो’ सोमवार बिहान आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष पोखरेलले भने– त्यो अवस्था बुझेरै हामीले निर्वाचन अधिकृत र र सुरक्षा प्रमुखलाई पहिले नै जानकारी दिएको बताएका छन् ।
मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानले च्यातिएका मतपत्र समेटेर मुचुल्कासहित आयोगमा पठाएर मतगणना रोकेका छन् । भरतपुरको मतपत्र च्यातिएको सन्दर्भमा के गर्ने भन्नेमा आयुक्तहरुको बैठक बसिरहेको स्रोतले जनाएको छ ।








