काठमाडौ २१ जेठ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको लागि प्रमुख प्रतिपक्षी एमालेको समर्थन जुटाउन असफल भएका छन् । सभापति देउवा शनिवार प्रधानमन्त्रीमा नाम दर्ता गरेर एमाले अध्यक्ष के.पी.ओलीलाई भेट्न साँझ बालकोट पुगेका थिए । निर्वाचन आयोग भरतपुरमा पुनःमतदान गराउने निर्णयको कारण एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि देउवा अध्यक्ष ओलीलाई भेट्न गएका हुन् । उनी उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिसहित बालकोट पुगेका थिए । सवा २ घण्टाको संवादमा देउवाले ओलीलाई भरतपुर घटना र प्रधानमन्त्रीको निर्वाचन फरक फरक पाटो भएको प्रष्ट्यान खाजेका थिए । उनले त्यही बिषयमा संसद अवरोध गर्न नहुने धारणा राखेका थिए । तर ओलीले संसदको जिम्मेवारी केवल प्रधानमन्त्री चयन गर्ने मात्र नभएको बेलीबिस्तार लगाए । स्रोतका अनुसार भेटमा देउवाले– ‘गणतन्त्रमा तपाईहरु सबै प्रधानमन्त्री बन्नु भो, मलाई पनि गणतन्त्रमा प्रधानमन्त्री बन्ने इच्छा छ, प्लिज एक पटक मलाई बोक्नुस् यार’ भनेका थिए । तर एमाले अध्यक्ष ओलीले भने अहिले प्रधानमन्त्री भन्दा संविधान र त्यसबाट निर्देशित नीति ,नियमको पालना महत्वपूर्ण पाटो भएको बताए । ओलीले ‘प्रधानमन्त्री चयन संसदीय प्रकृया बाहिर गएर हुन लागेको’ भन्दै चिन्ता व्यक्त गरेका थिए । देउवाले ‘प्रधानमन्त्रीमा एक पटक मलाई बोक्नुस्’ भन्दा ओलीले – प्रधानमन्त्री चयन प्रकृया नै गलत छ, रोक्नुस्’ भनेको स्रोतले बतायो ।
समर्थन जुटाउन बालकोट गएका देउवा ओलीले कडा जवाफ दिएपछि निरास भएर फर्केका छन् । एमालेले संसद अवरोध गरेपछि देउवालाई शनिवार रातभर निन्द्रा लागेको छैन । प्रायः सधै ढिलो उठ्ने देउवा आइतवार भने सबरै उठेका छन् । प्रधानमन्त्री बन्नकोलागि उनी आइतवार बिहानैदेखि साँसदहरुको टाउका गन्नमा व्यस्त छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले शनिवार उनलाई नेपाली काँग्रेसको २ सय ७, माओवादी केन्द्रको ८१, मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)को १६, ने.क.पा संयुक्तको ५, अखण्ड नेपाल १, समाजवादी जनता पार्टी १ र ऋनय २ सहित जम्मा ३ सय ११ टाउकाको हिसाब बुझाएका थिए । त्यस मध्येमा फोरमका विजयकुमार गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक मन्त्रालय मागेर बार्गेनिक गरिरहेको बुझिएको छ । चित्त बुझ्दो मन्त्रालय नपाए गच्छादार सरकारमा सहभागी नहुने स्थिति देखिएको छ । अन्य दलले समर्थन नगरे काँग्रेस र माओवादीले मात्र बहुमत पुग्ने अवस्था छैन । सांसद संख्या ५ सय ९३ छ । बहुमत पु-याउन २ सय ९७ चाहिन्छ ।








