काठमाडौं, २८ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गर्नेतर्फ अग्रसर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार कार्यकक्षमा बोलाएको सत्तारुढ दल र राजपा नेताहरूको बैठकमा संविधान संशोधन अहिले नै अघि बढाउने र चुनावको मिति सार्ने राजपा नेताहरूको प्रस्तावमा सहमति हुन नसकेपछि राजपा चुनाव बहिष्कारको निर्णय नजिक पुगेको मधेसी नेताहरूले बताएका छन्।
सिहंदरवारमा भएको बैठकमा राजपा नेताहरूले संविधान संशोधन नभई र मधेसमा स्थानीय तहको संख्या नथपी आफूहरू चुनावमा जान सक्ने स्थिति नरहेको बताएका थिए । जवाफमा सत्तारुढ दलका नेताले संविधान संशोधन गर्न अहिले संसदमा आवश्यक संख्या नरहेको र मधेसमा स्थानीय तहको संख्या बढाउन अदालतको निर्णयले रोकेकाले परिस्थिति बुझिदिन आग्रह गरेका थिए।
चुनावपछि संविधान संशोधनको अधिकतम् प्रयास गर्न आफूहरू प्रतिवद्ध रहेको दोहोर्याउँदै प्रधानमन्त्री देउवाले सबैले चुनावमा भाग लिनु पर्नेमा जोड दिएका थिए। जवाफमा उपस्थित सबै मधेसी नेताले यथास्थितिमा चुनावमा भाग लिन सक्ने अवस्थामा आफूहरू नरहेको बताए ।अहिले नै संविधान संशोधन गर्न नसक्ने हो भने मधेसमा पर्ने २ र ५ नम्बर प्रदेशको चुनाव तत्काललाई रोक्नु पर्ने राजपा नेताहरूले प्रस्ताव गरेका थिए । उनीहरूले प्रधानमन्त्री देउवालाई भने, ‘प्रचण्डले पहिलो चरणमा तीन प्रदेशमा चुनाव गराउनु भयो। तपाईँ पनि १ र ७ नम्बर प्रदेशमा चुनाव गराउनुहोस् । २ र ५ नम्वर प्रदेशमा संविधान संशोधनपछि गराउनुहोला।’
जवाफमा देउवाले सारा मुलुकले आफूहरूलाई चुनाव समयमा सम्पन्न गर्न सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको भन्दै चुनाव सार्न नसकिने बताएका थिए । ‘समयमा चुनाव सम्पन्न गर्नु राष्ट्रिय एजेण्डा हो। यसमा तलमाथि गरे हामी फस्छौं, त्यसैले चुनाव सार्ने कुरा नगरौं’ देउवालाई उद्धृत गर्दै उनका प्रेस सहयोगी बद्री सिग्देलले भने। सत्तारुढ गठबन्धनका अरु नेताले पनि चुनाव कुनै पनि हालतमा रोक्न नमिल्ने तर्क गरेका थिए।
बरु राजपा चुनाबमा भाग लिनका लागि एउटै चुनाव चिन्ह, र पार्टीको एउटै नाम दिलाउनका लागि निर्वाचन आयोगमा पहल गर्ने उनीहरूले बताएका थिए। आफूहरूले चुनाव चिन्ह दिलाइदिन सत्तारुढ दलहरूको सहयोग नखोजेको मधेसी नेताहरूले बताएका थिए। कुरा नमिलेपछि आवश्यक परे आइतबार बिहान फेरि बस्ने सहमति गरेर सो बैठक टुंगिएको थियो। भोलि बैठक बसिहाले पनि कुरा मिल्ने सम्भावना एकदमै कम रहेको दुबैतिरका नेताहरूले बताए।
बैठकमा देउवासँगै कांग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधि सहभागी थिए भने माओवादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र राम बहादुर थापा सहभागी थिए। त्यस्तै राजपाका तर्फबाट महन्थ ठाकुर, महेन्द्र यादव, शरतसिंह भण्डारी र अनिल झा थिए। ‘उहाँहरू चुनावअघि संशोधन पास गर्ने पक्षमा हुनुहुन्न। संशोधन नभई हामी चुनावमा जाने कुरै छैन,’ एक मधेसी नेताले सेतोपाटीसँग भने। सम्भवतस् आइतबार नै मधेस बन्दसहित आन्दोलनका कडा कार्यक्रम ल्याउन बताए। दोस्रो चरणको चुनावका लागि उमेद्वारले मनोनयन गर्ने मिति निर्वाचन आयोगले असार २ गतेलाई तय गरेको छ।








