काठमाडौँ, ५ भदौ । व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ को प्रस्ताव दुई तिहाइ मत नपुगी अस्वीकृत भएको छ ।
संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न सकेन । संशोधन विधेयक पारित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्या ५९२ को दुई तिहाइ ३९५ मत हुनुपर्नेमा पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । मतदानमा ५५३ सांसदले भाग लिनुभएको थियो । विधेयक पारित हुन ४८ मत पुग्न सकेन ।
कुन पक्षमा कति मत
संविधान संशोधन विधेयकका पक्षमा नेपाली काँग्रेसका ८२, राष्ट्रिय जनता पार्टीका २५, सङ्घीय समाजवादी फोरम नेपालका १५, नेपाल लोकतान्त्रिक फोरमका १३, नेकपा (संयुक्त)का तीन मत परेको थियो । अन्य केही साना दलले पनि पक्षमा मतदान गरेका थिए ।
संशोधन विधेयकका विपक्षमा नेकपा (एमाले) का १८०, राप्रपा(प्रजातान्त्रिक) का १९, नेपाल मजदुर किसान पार्टीका चार, नेपाल परिवार दलका दुई, राष्ट्रिय जनमोर्चाका तीन, मधेश समता पार्टी –बहुजन शक्ति र बौद्धिक जनतान्त्रिकका एक एक मत परेको थियो । नेकपा (माले)ले भने मतदान बहिष्कार गरेको थियो जसका पाँच सांसद छन् । रासस








