०४ चैत २०८२ , बुधबार

मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्ने

काठमाडौँ, २६ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको र सरकारलाई त्यसको पालना गर्न/गराउन सातबुँदे निर्देशन दिइसकिएको अवस्थामा निर्देशन विपरीत मन्त्रिपरिषद्को विस्तार गरेको भनी असन्तोष व्यक्त गरेको छ ।
आयोगले आज प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै त्यस किसिमको कार्य नगर्न÷नगराउन सरकारसँग आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी आयोगको निर्देशन विपरीत मन्त्रिपरिषद् विस्तार भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनशाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्ने सक्ने हुँदा यस किसिमको कार्य नगर्न÷नगराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”

प्रतिनिधिसभा तथा प्रदेश सभाको आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनको सिलसिलामा यही भदौ १४ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको छ । निर्वाचन आचारसंहिता लागू भएसँगै भदौ १५ गते आयोगले सरकारलाई आफ्नो स्वामित्वमा रहेका वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्न सातबुँदे निर्देशन दिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *