०४ चैत २०८२ , बुधबार

विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक श्रेष्ठविरुद्ध मुद्दा

काठमाडौँ, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पूर्वमहाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

‘आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरेको र मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अनुसन्धानबाट देखिन आएकाले’ आयोगले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक इन्जिनियरमा २०३६ चैत ५ गते नियुक्त भई २०७० असार ९ गतेसम्म महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दासम्म भएको आय र पेश गरिएको सम्पत्ति विवरण अमिल्दो रहेको पाइएको आयोगको ठहर छ ।

आयोगका अनुसार श्रेष्ठले आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चलअचल सम्पत्तिका सम्बन्धमा तथ्य प्रमाण छानबिन एवं विश्लेषण गरी हेर्दा निजले आयआर्जन गरेको वैध आयको तुलनामा रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो । आयोगले बिगोअनुसारको जरिवाना र कैद सजाय माग गरेको छ ।

भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको तथा स्रोत नखुलेको चलअचल सम्पत्ति निज र निजकी श्रीमती करुणादेवी कर्माचार्य, छोरा कमलेन्द्रलाल र छोरी प्रेरणाका नाममा बदनियतसाथ राखेको तथा लुकाएछिपाएको पुष्टि हुन आएको जनाई जफत गर्ने माग दाबीसमेत आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *