मंसिर ३, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम उमेदवारलाई विजयी बनाएर मुलुक फेर्ने अवसर दिन अनुरोध गरेका छन् । मोरङ, विराटचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बनाउन कम्युनिस्ट एकजुट भएको बताए ।
“मै जमानी बस्छु, धरौटी तिर्न म तयार छु, उमेदवारले गरेनन् भने पनि एमाले गर्न तयार छ, यसपटक वाम गठबन्धनका उमेदवारलाई भोट हालिदिनुहोस्,” उनको भनाइ थियो ।
जीवनका अनुभव देशका लागि खर्चन्छु
सम्वोधनका क्रममा केही भावुकसमेत भएका ओलीले आफू आज मर्छु कि भोलि मर्छु भएकाले अव कुनै स्वार्थ नरहेको बताए । “०३० सालदेखि नै नाफाको जीवन बाँचेको हो, उतिबेलै मार्न भनेर प्रहरीसमेत खटाएका थिए, पुर्न खाल्डोसमेत खनेका थिए, मृत्युबाट छलिँदै आएको छु । अहिलेसम्मका जीवनका अनुभव देशका लागि खर्चन्छु, मुलुक बनाउँछु भन्ने छ,” उनको सम्बोधन थियो ।
कम्युनिस्ट एकता हुन्छ
उनले दुई पार्टीबीच अहिले चुनावी तालमेल भएको र निर्वाचन लगत्तै पार्टी एकता हुनेमा शंका नपाल्न अनुरोध गरे । असोज १४ गते टीकाको दिन अरू दसैंको टीका थाप्न थाले । म र प्रचण्डजी बसेर राति १२ बजेसम्म पार्टी एकताको खाका बनाएयौँ,”उनले खुलासा गरे ।
कम्युनिस्टलाई वलशाली बनाउन आफूले निकै संघर्ष गरेको, जेलनेल भोगेर यो अवस्थामा ल्याइपु¥याएको दृष्टान्त पस्कँदै ओलीले यो चुनावमा वामपन्थीको एकल सरकार बन्नेमा आफू ढुक्क भएको बताउँदै खुसी पनि व्यक्त गरे ।
एउटै चुनाव चिह्न भएको भए कांग्रेस खोज्नुपर्थ्यो
सुरूमा माओवादी केन्द्र र एमाले एउटै चुनाव चिह्नमा लडेको दुई तिहाई सजिलै आउने बताउँदै अध्यक्ष ओलीलाई एउटै चुनाव चिह्न नभएकाले कांग्रेसलाई केही राहत मिलेको दाबी गरे । “दुवै दल सूर्यमा लडेको भए कांग्रेस खोज्नुपथ्र्यो, अहिले केही सजिलो भएको छ,” उनको भनाइ थियो ।
नेपालले चन्द्रमामा रकेट पठाउँछ
सधैँझैँ सपना सुनाउन र विकासका योजना बाँड्न खप्पिस अध्यक्ष ओलीले मोरङका जनतासँग पनि आफ्ना सपना साटे । नेपालले चन्द्रमामा रकेट पठाउनेदेखि तमोर उच्च, कोसी उच्च परियोजनापछि ती जलाशयमा स्टिमर चलाउन सकिने बताए । नेपालमा जलयातायातको सम्भाव्यताबारे मानिसहरूले अझै नबुझेको बताउँदै काम गर्न सकिने धारणा राखे ।
कांग्रेस दरिद्र भयो
कांग्रेस दरिद्र भएको अध्यक्ष ओलीको टिप्पणी थियो । उनले मोरङमा कांग्रेसकै कारण मेडिकल कलेज चल्न नसकेको आरोव लगाए । उनले उमेदवार बनाउने कार्यकर्ता नभेट्टाएर मेडिकल कलेज चलाउनेलाई उमेदवार बनाएको भन्दै कटाक्ष गरे । विकास गर्ने र चटके कुरा बेग्लै भएको उनको भनाइ थियो । कांग्रेसप्रति खनिएका ओलीले आफूले क्रान्ति सुरू गर्दा कांग्रेसका नेताहरू भारतमा लुकेर बसेको टिप्पणी गरे । “मैले आन्दोलन सुरू गर्दा कांग्रेस चुँ गर्न सक्दैनथ्यो । राजतन्त्र कम्मर भाँचिदिएको थियो । गड्यौलाजस्तो घस्रेर हिँड्न पनि नसक्ने हालतमा थियो,” उनले भने ।








