काठमाडौं ६, मंसिर । निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले केही ठाउँमा सुरक्षा चुनौती देखिएको भएपनि सम्बोधन भइसकेको उल्लेख गर्दै अव ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई आह्वान गरेका हुन्। मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनबारे संचारकर्मीहरुसँग कुरा गर्दै उनले आम मतदाता डर, भय र त्रासमुक्त भएर मतदातामा भाग लिन आतुर देखिएको जनाए।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि सुरक्षाको पूर्ण प्रत्याभूति भइसकेको दाबी गरे। उनले सबै ठाउँमा सुरक्षाको सुदृढ व्यवस्था गरिएको जनाए।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न संचार माध्यामको भूमिका महत्वपूर्ण बताए। उनले निर्वाचन संघीयता, गणतन्त्रसहितको उपलब्धिलाई संस्थागत गर्ने आधारशीला भएकाले त्यसलाई सफल बनाउन संचारमाध्यमले सन्तुलित भूमिका खेल्नुपर्नेमा पनि जोड दिए।
निर्वाचन आयोगले पहिलो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको पनि स्पष्ट पारेको छ।
निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका विभिन्न स्थानमा उम्मेद्वारलाई लक्षित गर्दै बम विस्फोटका घटना भइरहेका छन्।
बम बिस्फोटका घटना उल्लेख्य हुन थालेपछि आयोगले सुरक्षा निकायका प्रमुखसँग चासो व्यक्त गर्दै सुरक्षाको प्रबन्ध मिलाउन आयोगले निर्देशन दिएको थियो।








