०४ चैत २०८२ , बुधबार

देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन् : अध्यक्ष दाहाल

मंसिर ७ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै छोराछोरी नै आफ्ना लागि छोराछोरीसरह भएको बताउनुभएको छ ।

आज आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको स्व प्रकाश दाहालको श्रद्धाञ्जलिसभामा वितरण गरिएको लिखित मन्तव्यमा देशका सबै युवा–युवती हाम्रा छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि हामीले अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको बताउनुभयो ।

मन्तव्यमा भनिएको छ, “प्रकाशको मृत्युपछि नेविसंघ, अनेरास्ववियू र अखिल ९क्रान्तिकारी० सँगै युवा संगठनले पनि म र मेरो परिवारलाई संयुक्त सान्त्वना दिए र ‘हामी सबै तपाईंका छोराछोरी हौँ’ भनेर हाम्रो आत्मबल बढाए । प्रकाश अब छैनन् । तर, देशका हरेक युवा–युवतीमा हामीले प्रकाशलाई देखेका छौं।”  आफ्नो पारिवारिक शोकमा आम रुपमा प्राप्त भएको ऐक्यवद्धता हाम्रा लागि धेरै महत्वपूर्ण रहेको भन्दै उहाँले पीडामा साथ दिनुले खुशीमा साथ दिनुभन्दा धेरै महत्व राख्ने उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो ‘ तपाईहरुको साथले हामीलाई एकमात्र पुत्रको वियोगको पीडा सहन र पीडासँग लड्न धेरै शक्ति मिलेको छ ।’

शोकको यो घडीमा आफूले देशबाट मात्रै होइन विश्वभरिबाटै समवेदना र सान्त्वना पाएको, नेपालका सबै राजनीतिक दल र तिनको नेतृत्वले हामीलाई दिएको समवेदना र ढाडसप्रति ऋणी रहेको अध्यक्ष दाहालको भनाइ छ ।   अध्यक्ष दाहालको लिखित मन्तव्यमा भनिएको छ ‘ छिमेकी देश चीन र भारतबाट म र मेरो परिवारले निकै छिटो प्रेमपूर्ण समवेदना पायो । युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिका र एसियाका विभिन्न देश अनि संसारभरिका थुप्रै कम्युनिष्ट पार्टीले यो शोकमा हाम्रो परिवारप्रति ऐक्यवद्धता र सहानुभूति देखाए । पेशागत, व्यावसायिक र सामाजिक संघसंस्थाले यो शोकमा हामीलाई सान्त्वना दिए । मंसिर ३ गते नर्भिक अस्पतालदेखि पेरिसडाँडा र आर्यघाटसम्म स्वतःस्फूर्त रुपमा उर्लिएको जनसागरलाई मैले प्रकाशले छोटो उमेरमा कमाएको प्रतिष्ठाको प्रमाण मानेको छु । ’

यही मंसिर ३ गते राति आकस्मिक हृदयघातबाट अध्यक्ष दाहालका ३६ वर्षका छोरा प्रकाशको असामयिक निधन भएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी, पत्रकार, यहाँस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । उपस्थित सहभागीले अध्यक्ष दाहाल र उहाँको परिवारलाई समवेदना व्यक्त गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *