२ माघ, काठमाडौं । हरेक वर्ष माघ १ गते आयोजना गरिने तारेभिर महोत्सव सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार चौथो तारेभिर महोत्सवको उद्घाटन गर्नु भएको हो । यसअघि १ दिन गर्ने गरिएको महोत्सव यससपटक भने माघ १ र २ गते गरिएको हो ।राजधानी भित्रै केन्द्रभागबाट करिव १२ किलोमिटर दुरीमा रहेपनि तामाङ समुदायको बाहुल्यता रहेको तारेभिर सडक यातयातको सुविधा सम्म नपुगेको दुर्गम पिछडिएको क्षेत्रका रुपमा रहेको छ । यहाँको अथाह पर्यटकीय संभावनालाई आर्थिक विकासमा ढाल्ने प्रयास स्वरुप महोत्सवको आयोजना गरिएको हो
महोत्सवको उद्घटन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकाको चार उच्चशिखरहरुमध्ये शिवपुरीको उच्चशिखर तारेभिर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रचुर संभावना रहेको बताउन भयो । तारेभिर क्षेत्रलाई चट्टान आरोहण केन्द्रको रुपमा विकास गर्न सके स्थानीय क्षेत्रका जनताको जिवनस्तरमा ठुलो परिवर्तन ल्याउन सकिने बताउनु भयो । उहाँले पर्यटन मार्फत देशको द्रुत आर्थिक विकास गर्नका लागि महोत्सव कोसेढुंगा हुने बताउनुभयो । अध्यक्ष प्रचण्डले तारेभिर क्षेत्रको विकासमा केन्द्रीय सरकाले खेल्नुपर्ने भूमिका निर्वाह गर्नका लागि आफु तत्पर रहेको बताउनु भयो ।
मंगलबार महोत्सवको समपन गर्दै सो क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य तथा महोत्सवका संरक्षक रामेश्वर फुयालले स्थानीय क्षेत्रका जनताको आर्थिक विकास र यो क्षेत्रको अथाह सम्भावनालाई उजागर गर्न महोत्सवको आयोजना गरिएको बताउनुभयो । आन्तरिक पर्यटकको चाप बढ्दै गएकाले जनताको जनजीविकामा समेत योगदान पुगेको बताउनु भयो । फुयालले चट्टान आरोहण केन्द्र, केबलकार, पदयात्रा क्षेत्र सहित सिंगै पूर्वी क्षेत्रको वृहत्तर गुरुोजना निर्माण गरी काठमाडौंको आकर्षक पर्यटकीय गन्तव्य निर्माणमा आफुहरु लागिपरेको बताउनु भयो । फुयालले महोत्सव भब्यरुपमा समापन भएको र आगामी दिनमा अझ प्रभावकारी रुपमा आयोजना गरिने जानकारी समेत गराउनुभयो ।
प्रकृतिको मनोरम सौन्दर्यका साथै काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिने यो स्थान काठमाडौं जिल्लाको उत्तरी भाग गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा पर्दछ । ०७० को संविधान सभा निर्वाचनमा विजयी सभासद रामेश्वर फुयालको पहलकदमीमा सो क्षेत्रसम्म पुग्ने सडक निर्माण र महोत्सवको सुरुवात गरिएको थियो । यस अघि कच्ची सडक निर्माण गरी हाल २९ करोड लागतमा गोकर्ण हनुमानचोकहुँदै सो क्षेत्रसम्म पुग्नका लागि सडक निर्माणको काम टेण्डर मार्फत अघि बढेको छ भने पूर्वाधार विकासका अन्य काम पनि भइरहेका छन । बुढानिलकण्ठबाट समेत तारेभिर पुग्न सकिन्छ ।
यो स्थल धार्मिक भनाइ्अनुसार महादेवको तपस्याभूमि हो र वनपैदावारका दृष्टिले अत्यन्त सुलभ स्थान हो । काठमाडौं उपत्यकाको धार्मिक धरोहरको महत्व बोकेको वाग्मति नदी यसै क्षेत्रको उपजको रुपमा रहेको छ । प्राकृतिक हरियाली, कन्चन तथा शुद्ध पानी, सिमसार क्षेत्रको अत्यन्त ठूलो भण्डार रहेको यो स्थानमा गजधम्म गणेश झैं दक्षिणी पहारमा तारेभीर चन्दागिरी र फुल्चोकीलाई जिस्क्याइजिस्क्याइ उभिरहेको छ ।
यसको काखमा अवस्थित गोकर्णेश्वर क्षेत्र, उत्तरगया, हरियाली सुन्दरीजल क्षेत्र, सुन्दरीमाई मन्दिर, बूढानिकण्ठ नाारायण मन्दिर, तथा शहिदको आत्मा र आस्थाको केन्द्रका रुपमा विकास गर्न लागिएको राष्ट्र्यि शहीद तथा शान्ति पार्क(स्मारक) यज्ञडोल तारेभीरको अग्लाइको छहारीमा सौन्दर्य छरेर बसिरहेको छ । दिर्घकालिन गुरुयोजना र व्यवस्थित पूर्वाधार विकास गर्ने हो भने तारेभिर क्षेत्र अझ लोभलाग्दो पर्यटनकीय गन्तब्य बन्ने सुनिश्चित छ । यसका लागि सरकार, स्थानीय जनता, जनप्रतिनिधी र राजनीतिक दलको सार्थक र एकतावद्ध पहलकदमीको आवश्यकता देखिन्छ ।
महोत्सवमा सो क्षेत्रका निर्वाचित प्रतिनिधीसभा सदस्य कृष्ण राई, गोकर्णेश्वर र छिकेकी नगरपालिकाका प्रमुख, जिल्ला विकास समिति, राजनीतिक दलका प्रतिनिधीहरु, पर्यटनसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधीहरु तथा आन्तरिक पर्यटकको घुइचो लागेको थियो । तामाङ समुदायको झाँक्री नाच, नेवारी समुदायको झाँकी, स्थानीय भेषभूषा र उत्पादनको प्रदर्शनीले महोत्सवको गरिमालाई लोभलाग्दो बनायो । मोहन गौतम
तस्विर ः ललिता खड्का ।








