असार १९, काठमाडौँ । दुई दिनदेखिको अविरल वर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने अधिकांश तराईका जिल्लाहरू डुवानमा परेका छन् ।

अविरल वर्षाले बस्ती डुबाएका कारण करोडौँको धनमाल नष्ट भएको छ । वर्षाकै कारण अधिकांश राजधानी जोड्ने राजमार्गहरूमा पहिरो खसेर अबरुद्ध भएका छन् ।
अबिरल बर्षापछि आएको बाढीमा परी राजधानीको महादेव खोलाले बगाउदा धमस्थलीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रकाश पुर्कुटी रहेका छन् । उनको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको खबर नेपाल समाचारपत्र दैनिकमा छ ।
अबिरल बर्षाका कारण ५ नम्वर प्रदेशको प्रमुख ब्यापारिक शहर नेपालगन्ज ढुवानमा परेको छ । बाँकेका बिभिन्न भागमा आएको बाढी र पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।
वर्षाका कारण नदीहरूमा पानीको वहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वधारणलाई आग्रह गरेको छ ।








