असार २१, काठमाडौँ । सरकारले २०७२ को गोरखा भूकम्पबाट ढलेको धरहरा पुनःनिर्माण प्रक्रिया अगाडि बढाएको छ ।
धरहरा पुनःनिर्माणका लागि पाँचवटा निर्माण कम्पनीहरू प्राविधिक छनोटमा परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा छ ।
धरहरा पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आह्वान गरेको विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) मा छ वटा निर्माण कम्पनी प्रस्ताव पेस गरेका थिए, तीमध्ये पाँचवटा निर्माण कम्पनी छनोटमा परेका हुन् ।
प्राधिकरणका अनुसार, छनोट भएका कम्पनीहरूमा जेइक लामा जेभी, सीआर फाइभ सीईएस स्वच्छन्द जेभी, कुमार सीएफईसी जेभी, जीआईटीसी रमन जेभी र सीआईसीओ कालिका जेभी रहेका छन् । यी कम्पनीहरू नेपाली कम्पनी हुन् ।
नयाँ डिजाइन अनुसार धरहराको लागत चार अर्ब २७ करोड रुपियाँ (भ्याट र १० प्रतिशत मूल्य वृद्धि) सहित हुने अनुमान गरिएको छ ।








