असार २२, काठमाडौँ । विश्वकप फुटबल २०१८ को आजदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् । पहिलो खेल उरुग्वे र फ्रान्सबीच साँझ ७ : ४५ र अर्को खेल राती ११ : ४५ मा ब्राजिल र बेल्जियमबीच हुँदैछ ।
उरुग्वे र फ्रान्स दुबै टोली दोस्रो पटक विश्व च्याम्पियन हुने लक्ष्यकासाथ रुसको यात्रामा निस्किएका हुन् । सन् १९५० पछि विश्व च्याम्पिएन बन्ने दौडमा उरुग्वे छ भने सन् १९९८ पछि फेरि अर्को पटक विश्वविजेता हुने दौडमा छ फ्रान्स । तर यी दुबै टोलीमध्ये एउटाको सपनाले यहीँ पूर्णविराम पाउनेछ भने अर्को यात्रारत हुनेछ ।

आज यी दुबै टोलीले रुसको निज्नी नोभगोरोड रङ्गशालामा आआफ्नो सामथ्र्य प्रदर्शन गर्नेछन् । दुवै टोली अपराजित रहँदै विश्वकपको क्वाटरफाइनलमा पुगेका हुन् ।
समूह चरण अन्तर्गत खेलेका तीनवटै खेलमा उरुग्वे विजयी भएको थियो भने पोर्चुगललाई शीर्ष १६ अन्तर्गतको खेलमा २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो । उरुग्वेले प्रतियोगितामा हालसम्म विपक्षी टोलीबाट एक मात्रै गोल खाएको छ भने कुल ७ गोल गरेको छ ।
यस्तै समूह चरणका खेलमा दुईमा जित र एकमा बराबरी गरेको फ्रान्सले आक्रामक खेल खेल्नेछ । यो नै उसको बलियो पक्ष हो । उसको युवा खेलाी एमबाप्पेको तीव्र गतीलाई रोक्न उरुग्वेका डिफेन्डरलाई हम्मे पर्नेछ । शीर्ष १६ अन्तर्गतको खेलमा अर्जेन्टिना जस्तो बलियो टिमलाई ४–३ को नमिठो हार फ्रान्सले चखाउँदै अन्तिम ८ को यात्रा तय गरेको थियो ।

यस्तै पौने १२ बजे हुने अर्को खेलमा पाँच पटकको विश्वविजेता ब्राजिललाई बेल्जियमले रोकेर सन् १९८६ पछि पहिलो पटक सेमिफाइनल यात्राको टुङ्गो लाउने दाउमा मैदान उत्रदैछ । कजान रङ्गशालामा हुने उक्त खेलमा ब्राजिलको सन्तुलित टोलीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नु बेल्जियमलाई सहज नभएपनि लुकाकु र हाजार्ड जस्ता बलिया आक्रामक खेलाडीले बेल्जियमको मनोबल उच्च पारेको छ ।
शुक्रबारको खेलमा ब्राजिलका क्यासिमिरो टोलीमा हुने छैनन् । उनको स्थानमा टोलीले फर्नाडिन्होलाई मैदान उतार्ने तयारी गरेको छ ।
ब्राजिल शीर्ष १६ मा आक्रामक टोली मेक्सिकोलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो भने बेल्जियमले दुई गोलले पछि परेको अवस्था उल्ट्याउदै एसियाको फुटबल महारथी जापानलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।







