असार २४, काठमडौँ । क्यानडा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट फर्काइएको समाचार कान्तिपुर दैनिकमा छ । उनलाई प्रधानमन्त्रीको ठाडो आदेशमा विमानस्थलबाट फर्काइएको बताइएको छ ।
उनी क्यानडाको भ्यानकोभर सहरमा हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन ७ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रस्थान गर्न लागेका थिए ।
बोर्डिङ पास लिएर विमान चढ्न लागेका कोइरालालाई प्रहरी टोलीले नियन्त्रणमा लिई सोझै प्रधानमन्त्री निवास बालुवाटार लगेको थियो । बालुवाटारमा करिब एक घन्टा कुराई उनलाई घर जान दिइएको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीको ठाडो निर्देशनमा उनलाई भ्रमणमा जान वञ्चित गरिएको हो ।
‘मलाई प्रधानमन्त्री ओलीले भेट्न खोज्नुभएको छ भन्दै प्रहरी लगाएर बालुवाटार पुर्याइयो,’ कोइरालाले भने, ‘प्रधानमन्त्री निवासको एउटा कोठामा एक घण्टा थुनेर अपराधीजस्तो व्यवहार गरी घर फर्काइयो ।’
कोइरालाको टोलीका अन्य ६ जना भने शनिबारै क्यानडा प्रस्थान गरे ।








