०४ बैशाख २०८३ , शुक्रबार

कागेश्वरीको एकिकृत विकासमा जुटे जनप्रतिनिधि, मेलाको तयारी तिब्र

मोहन गौतम, काठमाडौं ८ भदौ  । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी महादेवको मन्दिरमा लाग्ने मेलालाई सहज बनाउन स्थानीय जुटेका छन । काठमाडौं जिल्लाको उत्तरपूर्वी क्षेत्र कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलमा रहेको यस मन्दिरमा कागको छुवाइ र बिष्टयाइँबाट हुने अनिष्टबाट बच्नका लागि हजारौँ भक्तजनको भीड लाग्ने गर्दछ । यस वर्ष भाद्र १३ लाग्ने उक्त मेला व्यवस्थापनका लागि सो क्षेत्रका जनप्रतिनिधी र स्थानीय सघं संस्थाहरु सकृय भएर लागेका छन । मेला नजिकिदै गर्दा काठमाडौं ३ का सांसद रामेश्वर फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, सोही वडाका अध्यक्ष मकुन्द गजुरेल सहितको टोलीले मेला व्यवस्थापनका लागि कागेश्वरी क्षेत्रको अवलोकन निरिक्षण गरेको छ । सो क्रममा सो क्षेत्रको समग्र विकासको कामको तत्कालिन, अल्पकालिन तथा दिर्घकालिन योजना समेत निर्माण गर्ने बारेमा समेत छलफल गरिएको छ ।

‘कागेश्वरी क्षेत्रलाई धामका रुपमा विकास गर्नका लागि केहि वर्षअघिदेखी विशेष अभियान संचालन गरिएको छ, फुयालले भन्नुभयो अधिकार सम्पन्न कानूनी हैसियतको कागेश्वरीधाम बिकास कोष बनाई समग्र विकासको केन्द्र बनाउने योजना छ ।’ कागेश्वरीधामसम्म पुग्नको लागि जनताको सहभागितामा लामो सिँढी निर्माण गर्ने योजना रहेको छ । ‘पेप्सिकोला, ब्रम्हखेल, आलापोटहुँदै कागेश्वरीधाम पक्की सडक टेण्डर मार्फत निर्माणको चरणमा छ उहाँले भन्नुभयो ।’ फुयालकै सिफारिसमा लोकतान्त्रिक सहिद मार्गमा ( ब्रम्हखेल–चिसापानी सडक) ५ करोड टेण्डरको काम पहिलो खण्ड तिहार अगाडि सक्काइसक्ने गरी काम भइरहेका उहाँले जानकारी दिनुभयो ।

पर्यटन विकासकै लागि केहि वर्ष अघि देखि फागुन ७ गते कागेश्वरी पर्यटन महोत्सव गर्न थालिएको छ । ११५० किलोका दुई “अष्टधातुका काग” बनाएर मन्दिरको कुण्ड र लोकतान्त्रिक सहिद उद्यान गागलमा राखिने कार्य तिब्र रुपमा भइरहेको छ । कागेश्वरी मनोहरा नगरपालिका र गुठी संस्थान, पुरातत्व बिभागलाई जोडेर समग्र कागेश्वरीधामको बिकासको गुरु योजना निर्माण गर्ने फुयालको योजना छ ।

कागेश्वरीको विकासका लागि स्थानीय जनताले गरेको प्रयासमा नगरपालिकाको पूर्ण साथ र सहयोग रहने नगरप्रमुख थापाले जानकारी दिनुभयो । उहाँले कागेश्वरीकै नामबाट नगरको नामाकरण हुनुले पनि यसको संरक्षण र विकासमा नगरपालिकाको विशेष दायित्व रहेको बताउनुभयो ।
वडा अध्यक्ष मकुन्द गजुरेलले धार्मिक साँकृतिक पक्षको जगेर्णा गर्दै यसलाई आर्थिक विकासको स्रोतका रुपमा विकास गर्न वडाले नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयो ।

ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहिआएको छ । यस स्थानमा सतिदवीको अङ्गपतन भई कागेश्वरी महादेवको उत्पती भएको जनविश्वास रहेको छ । मेला भर्नका लागि हजारौं तिर्थ यात्रीहरु देश तथा विदेशबाट आउने यस स्थानमा ढ्याङ्ग्रे नाच, लाखे नाच र विभिन्न जातजातीको झाँकी प्रदर्शनी समेत हुने गर्दछ । यहाँ पहरामा रहेको आकर्षक मन्दिर, मनोरम प्राकृतिक छटा, कागेश्वरी छहरा, पार्वती छहरा रहेका छन । यस स्थानबाट उपत्यकाको मनोरम दृष्यावलोकन समेत गर्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *