डा. विदुर चालिसे
काठमाडौं उपत्यका भौगोलिक हिसाबले उत्तरमा शिवपुरी, दक्षिणमा चन्द्रागिरी, पूर्वमा नगरकोट, दक्षिणपूर्वमा फुलचोकी तथा पश्चिममा नागार्जुनका अग्ला डाँडाहरूले छेकिएर बनेको एउटा उपत्यका हो । यसको आफ्नै ऐतिहासिक, सांस्कृतिक, धार्मिक, भौगोलिक तथा धरातलीय अवस्था भए पनि यहाँको समाज उपत्यकाको मध्य भागमा नेवार समुदायको बलियो बस्ती रहेको अवस्था हो । सामरिक तथा सांस्कृतिक हिसाबले परम्परागत रुपमा महत्वपूर्ण रहेको यस क्षेत्रमा परम्परागत रुपमा नेवार जातिको समाजको उल्लेख्य विकास भएको देखिन्छ । यस उपत्यकाको मध्य भागमा रहेको व्यापार, व्यवसाय, शासन, प्रशासन, भौतिक सुविधा तथा अन्य थुपै्र कारणले यसको मध्य भाग परम्परागत समाजको विस्तारका साथै बसाइ सराइले आजकल यो भूभाग झन् बाक्लिएको पाइन्छ ।
अनादि कालदेखि यहाँको समाजको सामाजिक बाहुल्यता नेवारी समाजको भए पनि अन्य जातिहरु पनि मिश्रित रुपमा थिए । उक्त कालमा पनि ब्राह्मण, खश, प्रधान, मगरलगायत अन्य जातिहरूको बस्ती थियो । ती समुदायको राजकाज तथा शासन प्रशासनमा समेत भूमिका हुनुका साथै उनीहरूको सामाजिक भूमिका पनि महत्वपूर्ण थियो । यसै सन्दर्भमा प्रताप मल्लले स्थापना गरेको वि.सं.१७२७ को रानीपोखरीको शिलालेखबाट समेत यहाँका उक्त जातिहरूको भूमिकालाई स्थान दिंदै शिलालेख र सो शिलालेखमा लेखिएको भाषामा दृष्ट साक्षिका रुपमा “दृष्ट साक्षि श्रीआदित्य चन्द्रमा अग्नि पृथ्वि जल आकास वायु आत्मा यम दिन रात्रि संध्या धर्म श्रीब्राहमण पांच प्रधान पांच खस मगर पांच श्रीशाके १५९२ कातिक शुदिपूर्णिमा (रानीपोखरीको नैऋत्य कोणमा रहेको अभिलेखबाट साभार ।)” अभिलेखको भाषा लेखिएको छ । सो भाषामा लेखिएअनुसार सामाजिक भूमिकामा ब्राह्मण, खश, प्रधान, मगरजस्ता जातिहरुलाई स्थान दिइएको छ ।
विगतमा यी जातिहरु पनि उपत्यकाको मध्य भागमा विभिन्न पेसामा संलग्न भई महत्वपूर्ण रुपमा बसोवास गर्दै आएको मान्न सकिन्छ । यहींबाट घनाबस्तीको विस्तारका क्रममा कृषि, वस्तुपालन, सानोतिनो व्यापार व्यवसाय, जिविकोपार्जनका लागि अपनाइने सामान्य अन्य पेशाका साथै स्वच्छ सफा हावापानी र गरिखानेका लागि समथर फाँटहरू तथा भीरपाखामा लाग्ने पानी पटाइले पछिल्लो यहाँको जनजीवन विस्तारै विस्तारित भयो र काठमाडौं उपत्यकाको वरिपरि रहेका डाँडाका काँछ वरपर बस्तीको विकास भयो । यसैले यहाँ बस्ने मानिसहरूलाई सामान्यतया उपत्यकाको मध्य भागमा बस्ने घरानियाँ, उच्चकुल तथा सम्पन्न समुदायका मानिसहरूले ‘काँठे’ का रुपमा परिचय दिन थाले ।
आजकल काठमाडौं उपत्यकाको डाडाँको तल सहरको मध्य भागको स्थानलाई ‘काँठ’ ले शब्द सम्बोधन गरिन्छ । यो शब्द संस्कृतको ‘कच्छ’ धातुबाट बनेको हो । काँठ भन्नाले सहर बजारदेखि बाहिरको ठाउँ, गाउँ, बस्ती वा कछाड भन्ने बुझिन्छ । यहाँ बसोवास गर्ने समुदायलाई “काँठको मान्छे”, ‘काँठे’, ‘कछाडिया’, ‘गाउँले’, ‘‘खुँजेली’ या ‘कुनाली’ भनेर पनि सम्बोधन गरिन्छ । समुदाय विशेषको पहिचानका लागि ‘कछाड’ शब्दको अर्थ छोटो धोती वा लगौँटी लगाउने भन्ने बुझिन्छ भने स्थान विशेषको पहिचानका लागि नदीका छेउको जमिन, तट, बगर या खुँज तथा सहरको इलाकालाई ‘काँठ’ भन्ने बुझाइन्छ । यस समुदायको स्वभावको हिसाबले काँठे मान्छे, काँठे मिजास वा काँठे बोलीका रुपमा परिभाषिक गरिन्छ । व्यङ्ग्यार्थ भावमा काँठमा बसोबास गर्ने यस्ता मानिसहरूलाई व्यक्तिवाचक परिचयका लागि सभ्यता नसिकेको, असभ्य, गँवारका नामले अभिनन्दित गरिन्छ ।
काँठका मानिसहरूको सन्दर्भमा शब्दार्थका दृष्टिले जे भए पनि सामाजिक, सांस्कृतिक तथा धार्मिक सहिष्णुता यिनीहरूको आफ्नै सामाजिक चरित्रको रुपमा रहेको पाइन्छ । यिनीहरूका खानपान, चाडपर्व, मेलापात, रीतिरिवाजमा सहयोगी भावना र साथको एक अर्कामा उपयोग भएको देखिन्छ । सहरबाट केही टाढा आफ्नो बस्ती व्यवसाय र जीविकोपार्जनको सन्दर्भमा आफ्नो जीवनका अधिकांश समय सीपको उपयोगमा भन्दा आवतजावतमा खर्चिनुपर्ने यिनको वाध्यता देखिन्छ । यिनीहरूका बीचमा घर धान्ने र व्यवसाय मान्ने प्रचलनले गर्दा यस ठाउँका मानिसहरूमा दैध चारित्रिक गतिविधि र स्वभावहरू समेत देखिन्छ । परम्परागत सीप, पुरातनमुखी सोंच र सामान्य स्तरको शैक्षणिक प्रणालीले यिनीहरूको व्यवहारमा अझै परिवर्तन दिन सकेको देखिदैन । यस क्षेत्रका मानिसहरूको सबैभन्दा ठूलो रोग स्थानीय मुखिया वा जमिन्दारी प्रथाको अवशेषका रुपमा रहेको प्रबृत्ति एवं चरित्रलाई भरपूर प्रयोग गर्नु र स्थानीय सामन्ती अवशेषको चारित्रिक पद्दतिबाट आफ्ना निहित तथा निजी स्वार्थका लागि सामाजिक मनोविज्ञानलाई प्रयोग गर्नु यिनीहरुको मुल ध्येय यस क्षेत्रको समाजमा रहेको विशेषताको रुपमा देखिन्छ । यस क्षेत्रमा रहेका आम जनजीवनको प्रमुख कमजोरी भनेको हिम्मत एवं आदर्शलाई आत्मसात् गर्नुभन्दा स्थानीय ठालूको शरण एवं गुहारमा लिप्त देखिनु हो । समाज विकासको कुनै पनि चरण एवं राजनीतिक आन्दोलनले केही सतहमा विद्रोही मानसिकताको विजारोपणको कारणले अगुवाइ भए पनि रुढ समाजभित्रको चर्को सनातनवादी चर्को यान्त्रिकताबाट ग्रस्त समाजको मनोविज्ञान परम्परागत ढाँचा र शैलीमा नै अगाडि बढिरहेको देखिन्छ । नयाँ सोंच, नयाँ सीप, नयाँ पद्दति एवं प्रणालीको विकास गर्न चाहे पनि बेलाबेलामा अलमलमा पर्दछ र समाजको चेतनालाई परम्परागत खाकाबाट उठाउन सकेको देखिदैन ।
काठमाडौं सहरको केही टाढा काँठ क्षेत्रमा बसोबास गरेको भए पनि यहाँका मानिसहरूको पहुँच ठूला घरानियाँ, दरवार, उच्चस्तरको सामन्त, खानदानी व्यवसायी एवं उच्चपदीय जीवनका चरित्र, व्यवहार, शैली र स्वभावमा एकाकार हुन पाएका कारण पहुँचवाला यस क्षेत्रका मानिसहरू आफूलाई अनुकूल हुँदा सहर केन्द्रीय चाकडी चाप्लुसी गरी ठालु पल्टिने र प्रतिकूल हुँदा काँठ क्षेत्रका सबै सोझासाझा मानिस आफ्नै ठानीे आफू अधिनस्थ शासकको झैं कजाइ गर्ने द्वैध मानसिकतामा देखिन्छन् । साथै यस क्षेत्रका साधारण जीवन यापन गर्ने मानिसहरू सबल सामाजिक सदाबहार एवं सक्षम नेतृत्वको विकासभन्दा पुरातन हैकमका अवशेषका रुपमा रहेका चरित्रको पक्षपोषणमा देखिन्छन् । उनीहरू सहरिया उपल्लो वर्गलाई आदर्श नायकको चरित्र, पात्र एवं कथनीमा आफ्नो जीवन सापेक्षताको आदर्श देख्छन् । काँठे समाजमा त्यस्तो सम्बन्धको विकास तथा विस्तारमा स्थानीय जमिन्दार, सामन्त वा मुखिया चरित्रका मानिसहरूबाट परिभाषाहरू जेडिदिन्छन् । त्यसैले काँठले आफ्नो परिवेशमा हत्तपत्त तेति विद्रोह गर्दैनन् । जीवनका उकाली ओरालीमा असन्तुष्टि रहे पनि राज्यसँग कुनै चर्को आग्रह पूर्वाग्रह राख्न सक्दैनन् । बिचौलियाको काम स्थानीय सामन्त, मुखिया वा जमिन्दारको अगुवाइमा काँठका उत्पादन सम्बन्धसँग जोडिएका र कृषि तथा वन पैदावारसँग प्रत्यक्ष वा परोक्ष अधिकार रहेकाले अहिले पनि विशेषत जग्गा जमिनमाथिको अधिकार कुनै न कुनै नामले यिनीहरूकै पहुँचमा रहेको पाइन्छन् ।
यस क्षेत्रमा समाजको विकास, विज्ञानको विकास, आर्थिक विकास एवं राजनीतिक चेतनास्तरको विकास पनि सामान्य जनजीवनले कारोवार गर्ने शैली वा ढाँचा वा ढर्राभन्दा उन्नत देखिदैन । आफ्नो बसोबास क्षेत्रभन्दा टाढा रहेको स्कुल, कलेज, पेसा, विभिन्नस्तरका कार्यालय आदि सहरमा रहेकाले आफ्नो जीवनको धेरै लामो समय आवतजावतमा विताउनु पर्ने वाध्यता छ । यस्तो वाध्यताले उनीहरूको दैनिक जीवनको आय आर्जन एवं क्षमता विकासमा समस्या पारेको पनि देखिन्छ ।
देशको राजनैतिक आन्दोलनले देशमा धेरै नेता जन्मायो भने देशको नेतृत्व पनि गरायो । काँठ क्षेत्रका मानिसहरूमा रहेको वर्ग चेतनाको कमजोरीका कारण राजनैतिक नेतृत्वको विकास हुन नसक्नु काँठको ठूलो कमजोरी हो । यो बारे उपत्यकाको काँठको इतिहास एवं तथ्यहरुले भन्छन् । जब राजनीतिक आन्दोलनले उपलब्धिहरू दिन थाल्दछ तब काँठका मानिसहरू उपल्लो नेतृत्व विकासमा पहुँच पुर्याउन सक्दैनन् । पुगिहाले पनि उनीहरूको राजनीतिक चरित्रभन्दा काँठे सोंच, चिन्तन, परम्परा, पद्दति र शैलीभन्दा माथि उनीहरू पनि उठ्न सक्दैनन् । उनीहरूलाई पनि वाध्यता छ, किनभने काँठको जग्गा जमिनमा रहेको आफ्नो सामान्य स्वामित्व, स्थानीय सामाजिक मनोवैज्ञानिक चेतनामा सल्बलाएको ठालु प्रबृत्ति एवं उपल्लो नेतृत्वसम्मको पहुँचले राजनैतिक आन्दोलनले विकास गरेको उच्च पदस्थ ठालुको बिचमा सम्बन्ध गाँस्नु उनीहरू आफ्ना लागि आवश्यक ठान्दछन् । तर आन्दोलनको भावना र कार्यदिशालाई भजन गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने कार्यशैली र चिन्तनको मनोविज्ञानमा रहेको देखिन्छन् । काँठको सबैभन्दा ठूलो अर्को महारोग हो अवसरवाद । स्वभावैले मध्यमवर्गीय स्रोतबाट विकास भएको समाज र उनीहरूले देखाउने आफ्ना स्वभाविक प्रवृत्तिमा खासै अन्तर देखिदैन । उनीहरू सामान्य कानुन र निर्णयको भोक्ता र प्रयोक्ता आफै जस्तो ठान्दछन् र निर्णय सार पनि सोही प्रवृत्तिबाट समाजमा झल्किन्छन् । त्यसैले घटनाक्रमको विकासका आधारमा आफ्ना स्वार्थ पूरा गर्न अवसरको खोजीमा हरहमेसा देखिन्छन् ।
तसर्थ काँठे समाजमा अवस्थित मनोगत उच्चताको चिन्तन एवं प्रतिस्पर्धाको बजारमा रहेको क्षमताको कमजोरीका कारण अवसरका लागि चाकडी र चाप्लुसीमा केन्द्रित देखिन्छन् । उनीहरूको चाकडीको भाषा ‘हुन्छ !’, ‘हस !!’, ‘हजुर !!!’ मा सिमित हुन्छ । उनीहरूमा थप तर्क गर्ने वा तथ्य पेश गर्ने आकाङ्क्षा रहँदैन । यसैलाई नै आफ्नो परमकर्तव्य ठान्दछन् र जीवन जिउँदछन् । यसबाट आफूलाई बठ्याइको सामाजिक मनोविज्ञानमा रुपान्तरित गरेर अब्बल भएको मनोगत सामाजिक विश्लेषण गर्दछन् ।







