रमेश खड्का, कागेश्वरी
गोसाईकुण्डमा मेला भर्ने दर्शनार्थीहरुले त्याहाँको पबित्र जल लिएर राजधानीकै उत्तरपूर्वी कागेश्वरीमा अबस्थित कागेश्वर महादेवलाई स्नान गराएपछि आफ्नो धार्मिक यात्रा तथा मनोकामना पुर्ण हुने आस्था लिएर प्रत्येक बर्ष भाद्र शुक्ल अण्टमीका दिन कागेअण्टमी मेला भर्न पुग्दछन । कागेश्वरीले एकपल्ट फेरी गोसाईकुण्डमा भेटिएका दर्शनार्थीहरुलाई यहि भदौ १३ कागे अष्टमीका दिन याँहा सँगै मिलाप गराईदिन्छ । कागको रुपमा रहेका कागेश्वर महादेबको याँहा स्नान गरेर जल चढाएर पुजाआजा गर्दा संम्पुर्ण पाप नाश हुने र यस लोकमा सुख, शान्ति प्राप्त गरि मरणोपरान्त शिवलोको सुखभोगको फल मिल्ने मान्यताले यस दिन असंख्य दर्शनार्थीहरुको भिड लाग्दछ । ६४ लिङ्ग मध्यको एक प्रमुख लिङ्ग रहेको कागेश्वरी महादेबको दर्शनलेमात्रै मनोकामना पूर्ण हुने आस्थाका साथ याँहा भक्तजनका भिड लागिरहन्छ । कागेश्वरी मनहरा नगरपालिको वडा नं १ मा अबस्थित कागेश्वरी नगरपालिकाकै धार्मिक महत्वको प्रमुखस्थल हो । नगरपालिकाको शिरमा रहेको कागेश्बरी खानेपानीका स्रोत, बिभिन्न जातका जनाबरको आश्रयस्थल र शिवपुरी राष्ट्टिय निकुञ्जको वन पैदावरका स्रोत सम्पन्नताले कागेश्वरी मनोहरा नगरपालिका नगरबासिहरु नगरको शान बढेकोमा बिश्वस्त छन ।

राजधानी भित्रै मात्रै १८ किलोमिटरको उत्तरपूर्वी भेगमा शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेको कागेश्वरी पर्यटकिय तथा धार्मिकस्थल सुन्दरिजल र मणिचुडसँगै जोडिएका छन् । कागेश्वरीको शिरमा पुग्दा त्याँहाको मनमोहकताले मनै प्रफुल्लित गराइ स्वर्गिय आनन्दको आभाष गराँउछ । समग्र उपत्यकाको मनमोहक दृश्याबली अबलोकन गर्न, स्वच्छ सुन्दर वातावरणको अनुभब लिन तथा आर्कषक गा्रमिण भेग नियाल्न, सुन्दर झरना र नदिको कलकल आवाज र मेलम्चि खानेपानि आयोजनास्थल, बि.पिले जेल जिवन बिताएका बि.पि.संगा्रहालय जस्ता बिधिताले सम्पन्न कागेश्वरी क्षेत्र कुनै निपुण कालिगढको उत्कृष्ट सिर्जना झै लाग्दछ ।
श्रीस्वस्थानी ब्रतकथामा कागेश्वर महादेवको आराधनाको महत्वको ब्याख्या गरिएको छ । शिवजीको अपमान सहन नसकि यज्ञकुण्डमा प्रबेश गरि प्राणत्याग गरेकि सतिदेविको मृत शरिर काँधमा बोकि अति शोकमा डुबेर यताउता भौतारिरहँदा समयक्रमसँगै शरिरका बिभिन्न अङ्ग पतन हुने क्रममा यस स्थानमा आईपुग्दा मुटु भयो । यस स्थानमा सेनपिठ उमादेबि अष्टबक्रायोगिनी कागेश्वर महादेब उत्पत्ति भए शिवशत्ति स्वरुपले रहे । उक्त स्थानमा नवग्रह आएर अनेक तरहले पुजाआजा गर्दा महादेव प्रसन्न रहि बरदान माग भन्नुभयो । तब नबग्रहले हामी मानवका जिवनमा आउने हर प्रकारका घटनाका उत्तरदायी बन्न सकौ र तिनमा जिवनमा लाभ तथा हानी हाम्रो कारणलेनै होस भनि मागे र सो बरदान प्राप्त गरेकोले याँहाको महादेवको दर्शनले नवग्रह दशा शान्ति रहि शुभफल मिल्ने मान्यता रहेको छ । यस महादेवस्थानमा रहेको सेन पर्वत अर्थात कागेश्वरी पहाड चढ्नाले मात्रै दश गाई दान गरे बापतको फल मिल्ने पुराणमा उल्लेख भएकोले यस स्थानको धार्मिक आस्थाको गरिमा अझ अटल रहन्छ । धार्मिक मान्यताअनुसार कागले मानिसलाई छुदाँ अशुभ मानिन्छ , कागको बिष्टा शरिरमा परेमा अनिष्ट हुनसक्छ र कागको मैथुन देखेका अपशकुन लाग्छ भन्ने उक्ति बिधमान रहेकाले सो प्रकारका दोषलाई कागदोष मानिन्छ र यस्तो कागदोषबाट मुक्ति पाँउन बर्षदिनभर कागदोष लागेका मानिसहरु याँहा आई स्नान गरेर कागेश्वर महादेवलाई जल चढाएर पुजाआजा गराई अनिष्टता निवारण गराँउदछन ।
यसैगरि अको कथनअनुसार सत्ययुगमा महादेब र पार्वती वनबिहार गर्न निक्लनुभयो । वनबिहार गर्दागर्दे महादेवले पार्वतीलाई छल गरि सेन पर्बत अर्थात यहि कागेश्वरी पहाडको गुफामा आई तपस्या गर्न थाल्नुभयो । एकाएक शिवजी अन्र्तध्यान भएपछि चिन्तित पार्वतीले ध्यानदृष्ट्रिले पत्ता लगाएपछि सेतो कागको रुप धारण गरि ब्रम्मर्तिथ अर्थात ढकाल खोला र बागमति नदिको संगमस्थलमा स्नान गरि जल चुच्चाले च्यापि महादेवलाई चढाएपछि प्रसन्नताकासाथ कागेश्बर महादेबका नामले प्रसिद्दि रहनेछ भनि दुई दम्पति बनबिहार गर्नथाल्नुभयो । स्थानियबासिहरुको एक अर्को ब्याख्यान अनुसार परापुर्वकालमा कुनै गोठालोको गाईको दुध दिनप्रतिदिन घट्दै गएपछि उसले चियोचर्चो गर्दा सेतो कागले दिनहुँ दुध यहि गुफामा चढाएको देखि आश्र्चयले सो स्थानमा जमिन खोतल्दा शिबलिङ्ग भेटेपछि कागले पुजाअर्चना गरेको महादेबलाई कागेश्वर महादेबको रुपमानि नियमित पुजाआजा चलाउन थालियो ।

कागेश्वरी पुग्न पुरानो बसपार्कबाट आलापोटसम्मको करिब डेढ घण्टाको बसयात्रा गरेपछि जरिबुट्टे,दुधेगाँउ हुँदै फेदिमा रहेको रामकृष्ण मन्दिरको दर्शन गरि कागेश्वरी गाँउ हुदै करिव आधा घण्टा उपत्यकाको मनोरम दृश्यपान ग¥दै उकालो यात्रा पार गर्दा समय बितेको थाहा हुन्न । त्यस्तै पुरानो बसपार्कबाटै सुन्दरीजलको बसयात्रा या पुरानो बसपार्कबाटै आलापोट हुँदै सातघट्टे सम्मको बसयात्रा गरि आधा घण्टाको पैदल यात्राबाट यो तिर्थस्थल पुगिन्छ । कागेश्वरीको शिरमा पुगेपछि समग्र उपत्यकाका सिपालु कालिगढको मनमोहक सृजना झै लाग्दछ । गागलफेदी गा.बि.स.बाट भर्खरै कागेश्वरी मनोहरा नगरपालिकामा परिणत रहेको यस नगरपालिकाको नामाकरणसमेत यिनै महादेबको नामबाट गरिएकोमा नगरबासिहरु गौरवांवित महसुस गरेका छन् । राजधानिभित्रैको यति नजिक दुरिमा रहेको अति महत्वको यस स्थलको जर्गेना, बिकास, र प्रचारमा सराकारवालाको अहंम भुमिका आबश्यक रहेको छ । परापुर्वकालिन ऐतिहाँसिक तथा धार्मिक धरोहर कागेश्वरीको बिकासका लागि फेदीबाट नै सिँढी निर्माण गरि पैदल यात्रीलाई आरामका लागि आश्रयस्थल, पाटिपौवा, पिकनिक स्थल बनाँउनु अत्याबश्यक छ ।
कागेश्वरीलाई उपत्यकाको उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा बिकसित गर्नका लागि कागेश्वरी मनोहरा नगरपालिकाले बृहत कागेश्वरी पर्यटनस्थलको अबधारणा समेत बिकास गरेको छ । कागेश्वरी पर्यटन स्थल बिकासका लागि माननिय सांसद रामेश्वर फुयाँल, नगरपालिका प्रमुख कृष्णहरि थापा, कार्यकारी अधिकृत मनिता श्रेष्ठ, वडा अध्यक्ष्य मुकुन्द गजुरेल लगायत बिभिन्न राजनैतिक दल तथा स्थानियबासि समाजसेबिहरुको समन्वयमा भैरहेका र हुन गैरहेका कागेश्वरी पर्यटन बिकासका योजनाले कागेश्वरी पर्यटनको सपना बुन्नेहरुको सपनाले पुर्णता पाउने कुरामा दुईमत रहन्न ।







