०४ चैत २०८२ , बुधबार

कागेश्वरी मेला उत्साहजनक रुपमा सम्पन्न

मोहन गौतम,काठमाडौँ १३ भदौ । कागेश्वरी मनहरा नगरपालिका वडा नं. १ गागलफेदीको कागेश्वरी महादेव मन्दिरमा आज भाद्र शुक्ल अष्टमीको दिन लाग्ने ‘कागेश्वरी मेला’ उत्साहजनक रुपमा सम्पन्न भएको छ।

मेलामा भर्न काठमाडौं उपत्यका मात्रै नभएर विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता थियो । मेलामा हिन्दू र बौद्ध दुवै समुदायको विशेष उपस्थिति रहेको थियो । थुप्र्रै झाँक्रीहरु ढ्याङ्ग्रो ठोक्दै सहभागी भएका थिए भने नेवारी समुदायको लाखे नाच पनि विशेष थियो । स्वस्थानी व्रतकथामा सतीदेवीको मुटु पतन भएको किंवदन्ती छ ।

जनै पुर्णिमामा रसुवाको गोसाइँकुण्ड तीर्थ गरेका तीर्थालुले ल्याएको जल यसै दिन कागेश्वरीमा चढाएर व्रत विर्सजन गर्ने प्रचलन छ । कागेश्वरी महादेवलाई मकै आजै चढाइन्छ । काठमाडौँको उत्तरपूर्वी क्षेत्र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा रहेको कागेश्वरी महादेवको मन्दिरमा पूजाआजा गरी हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहेको छ ।
कागेश्वरी महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कागेश्वरी क्षेत्रबाट काठमाडौं उपत्यका र यहाँको मनहोहक दृष्यावलोकण गर्न सकिन्छ ।

यस क्षेत्रबाट निर्वाचित सांसद रामेश्वर फुयालले केहि वर्ष अघिदेखि धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण यो मन्दिर र समग्र क्षेत्रलाई समेटर कागेश्वरी धाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान सुरु गरेका छन । अभियान अन्र्तगत एकिकृत गुरुयोजना निर्माण गरी यसलाई विकास गर्ने र पर्यटनका मार्फत स्थानीय जनताको आर्थिक क्षमताको विकास गर्ने लक्ष्य लिइएको छ ।

पर्यटन विकासकै उद्धेश्यले गागलमा लोकतान्त्रिक सहिद उद्यान निर्माण गरिएको छ । पहिलो क्रान्ति दिवसको संझनामा यस क्षेत्रको पर्यटकीय विकासको संभावनालाई उजागर गर्ने उद्धेश्यले फागुन ७ गते कागेश्वरी पर्यटन महोत्सवको आयोजना गरिदै आएको छ ।
नेपाल सरकारले रु पाँच लाख सहयोग र फुयालको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु पाँच लाख तथा स्थानीय जनताबाट सङ्कलित कवाड सामानबाट ‘काग स्तम्भ’ बनाइँदैछ । सांसद फुयाँलले लोकतान्त्रिक शहीद उद्यान गागलमा स्थानीय बासिन्दाको कवाडी धातुबाट एक हजार किलोको काग बनाइने बताउनुभयो । सांसद फुयाँलले कागेश्वरी सहित पशुपतीनाथ, गोकर्णेश्वर उत्तरगया, जानकी मन्दिर लगायतका स्थललाई जोडेर पशुपति अन्तर्राष्ट्रिय परिपथ बनाइन अभियान नेपाल सरकारसँग माग गर्नुभयो । यसले लाखौंको संख्यामा रोजगारी सिर्जना हुने फुयालको विश्वास छ ।
फोटो : ललिता खड्का

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *