माघ ६, कैलाली । वाणिज्यमन्त्री मीन विश्वकर्माले नेपाली काँग्रेस पाँच वर्षका लागि प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।नेपाल प्रेस युनियन कैलालीले शनिनबर धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले जनताले काँग्रेसलाई प्रतिपक्ष भएर बस्नका लागि जनादेश दिएकाले सरकारमा नजाने बताएका हुन् ।
विश्वकर्माले प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर आन्दोलन नगर्न आग्रह गरे। संविधानको पूर्ण कार्यान्वयन गराउन राष्ट्रियसभाको निर्वाचन गर्नुपर्ने बाध्यता छ र त्यसका लागि वर्तमान सरकारले अस्थायीरुपमा राजधानी तोकेको मन्त्री विश्वकर्माले स्पष्ट पारे।
उहाँले सम्बन्धित प्रदेशले विधिसम्मत ढंगले आफ्नो राजधानी तोक्न सक्ने जिम्मेवारी भएकाले त्यसैमा अल्झिएर आन्दोलन गरिरहन उपयुक्त नभएको उल्लेख गरे । ‘राजधानी तोकिँदैमा विकास हुन्छ भन्ने मनसायबाट हामी जानु हुँदैन’ मन्त्री विश्वकर्माले भने ‘देश संघीय संरचनामा गइसकेको छ, सम्पूर्ण अधिकार स्थानीय तहमा पुगिसकेका छन् । राजधानी जहाँ भए पनि स्थानीयवासीलाई कुनै असर पर्दैन ।’ उनले नेपाली काँग्रेसप्रति जनताको विश्वास, लोकप्रियता, भरोसा अझै कायम रहेको बताए ।
उनले वर्तमान सरकारले ७ नम्बर प्रदेशको विकासका लागि महाकालीको डिपीआर, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, गौरीफण्टा नाकाको स्तरोन्नति, सुदूरपश्चिममा पोलिटेक्निकल इन्ष्टिच्युट बनाउने काम अघि बढाइसकेको बताए।








