जेठ १३, पोखरा । सरकारको सय दिने कार्य प्रगति सार्वजनिक गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश ४ को सरकार देशकै उत्कृष्ट भएको दाबी गरेका छन् ।

उनले सातवटा प्रदेशमध्ये प्रदेश ४ को सरकार सर्वोत्कृष्ट भएको दावी गरेका हुन् ।
प्रदेश सरकारले जिरो लेवलबाट काम सुरु गरे पनि एक सय दिनमै राम्रो काम गर्न सफल भएको जिकिर गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘बजेट, नीति तथा कार्यक्रम र कानुन निर्माणमा देशका सातै प्रदेशमध्ये प्रदेश नम्बर ४ सबैभन्दा उत्तम छ ।’
प्रदेश सरकारले पेश गरेका ७ वटा विधेयक प्रदेश सभाबाट पारित भएको र १७ वटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिएको उनले जानकारी दिए ।
त्यस्तै सरकारले प्रदेश आकस्मिक कोष सञ्चालन सम्बन्धी विधेयक, स्थानीय तहको कानुन तर्जुमा सम्बन्धी विधेयक र प्रदेश दुग्ध विकास बोर्ड सम्बन्धी विधेयक मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।








