जेठ २०, काठमाडौँ । निजामती सेवाको खरिदार पदमा खुल्ला विज्ञापन नखुलाइने भएको छ । यससँगे खरिदार पद हट्ने भएको छ ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
यसअघि खरिदार पदमा खुल्ला विज्ञापनबाट ७० प्रतिशत पदपूर्ति गरिन्थ्यो । हाल कानुन मन्त्रालयमा सुझावका लागि पुगेको संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ मा खरिदार पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति नगर्ने उल्लेख छ ।
‘कार्यालय सहयोगीबाहेक खरिदार पदभन्दा तल अर्को पद छैन । कार्यालय सहयोगी आन्तरिक प्रतिस्पर्धाबाट माथि आउन पाउने व्यवस्था छ’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुरेश अधिकारीले भने, ‘त्यसैले अब खरिदार पद राखिराख्नु परेन ।’
उनले संघीय निजामती सेवा ऐनको मस्यौदा कानुन मन्त्रालयमा विचाराधीन रहेको जानकारी दिए ।








