जेठ २०, विराटनगर । करिब ३३ किलो सुन हराएसँगै पर्दाफास भएको सुन तस्करी मुद्दाका फरार आरोपी छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङसमक्ष आइतबार आत्मसमर्पण गरेका छन् ।

उनले कार्यालय समय सुरु भएको करिब आधा घण्टापछि अदालतसमक्ष आत्मसमर्पण् गरेका मोरङ प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । प्रहरीले फरारको सूचीमा रहेका उनको खोजी गरिरहेको थियो ।
सुन तस्करी र सनम शाक्य प्रकरणका मुख्य आरोपी भनिएका चूडामणि उप्रेती गोरेले बयानमा आफू सघाउने मात्र भएको भन्दै वाङगेललगायतको समूहको संलग्नतामा तस्करी हुने गरेको बताएका थिए ।
घलेले सुन तस्करीको धन्धा चलाउने गरेको र आफू उनकै लाइनमा बसेर काम गर्ने गरेको गोरेले बयानमा बताएका थिए ।
यसअघि फरारमध्येका एसएसपी श्याम खत्रीले पनि अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् । गत बिहीबार आत्मसमर्पण गरेका उनको त्यसै दिन बयान सकेर न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले थुनामा राख्ने आदेश दिइसकेको छ ।







