०३ बैशाख २०८३ , बिहिबार

यसरी गोलाप्रथाद्वारा राष्ट्रियसभा सदस्यको भाग्य फैसला हुँदै !

जेठ २८, काठमाडौँ । संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाका सदस्यको कार्यकाल निर्धारणका लागि असार ४ गते गोलाप्रथा हुने भएको खबर आजको गोरखापत्र दैनिकमा छ । राष्ट्रियसभा कार्यसञ्चालन नियमावली पारित भएसँगै संघीय संसद् सचिवालयले सदस्यको कार्यकाल टुङ्गो लगाउने तयारी गरेको हो ।

कूल ५९ सदस्य रहने राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक चौथाइ सदस्यको कार्यकाल सकिनेछ । सदस्यको कार्यकाल दुई, चार र छ वर्षको हुनेछ ।

 

राष्ट्रियसभा नियमावली अनुसार राष्ट्रियसभामा प्रतिनिधित्व हुने सबै क्लस्टरको समान प्रतिनिधित्व कायम हुने गरी गोलाप्रथा हुनेछ । क्लस्टरअनुसार नै चरणबद्ध रूपमा गोला हालिनेछ । नियमावली अनुसार पहिलो दुई वर्षमा १९ र चार तथा छ वर्षमा २०÷२० जना सदस्यको कार्यकाल सकिनेछ ।

 

यसरी हुनेछ गोलाप्रथा
हाल राष्ट्रियसभामा ५९ सदस्य छन् । जसमा प्रत्येक प्रदेशबाट आठ जनाका दरले प्रतिनिधित्व गरेका ५६ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत तीन सदस्य छन् । प्रदेशबाट प्रतिनिधित्व गरेका आठमध्ये खुला तीन, महिला तीन, दलित एक र पिछडिएका वा अपाङ्गता भएका मध्येबाट एक जनाको प्रतिनिधित्व हुने व्यबस्था छ ।

 

नियमावलीमा समेटिएको कार्यविधि अनुसार सबै क्लस्टर र प्रदेशको प्रतिनिधित्व सुनिश्चितताका लागि प्रदेशगत रूपमा खुला, महिला, दलित एवं पिछडिएको क्षेत्र र मनोनीतको फरक–फरक रूपमा गोलाप्रथा हुनेछ ।

खुला तर्फबाट एउटा प्रदेशबाट निर्वाचित भएका तीन सदस्यका लागि गोलाप्रथा हुनेछ । यसरी गोलाबाट कुनै एक प्रदेशका तीन सदस्यको कार्यकाल क्रमशः दुई, चार र छ वर्ष कायम हुनेछ । यसैगरी सबै प्रदेशमा क्लस्टरअनुसार गोलाप्रथा हुनेछ । एउटा प्रदेशबाट प्रतिनिधित्व गर्ने तीन क्लस्टरका लागि तीन चरण नै गोलाप्रथा हुनेछ ।

 

मनोनीत तीन सदस्यको पनि यसै गरी गोलाप्रथा हुनेछ । मनोनीत तीन सदस्यको पनि दुई, चार र छ वर्षको कार्यकाल हुनेछ । यसैगरी प्रत्येक प्रदेशबाट प्रतिनिधित्व गर्ने तीन महिला सदस्यको हकमा पनि प्रदेशगत रूपमा गोला हालिनेछ । एक प्रदेशका तीन महिला सदस्यको कार्यकाल क्रमशः दुई, चार र छ वर्षको नै हुनेछ ।

 

दलित क्लस्टरबाट प्रतिनिधित्व गरेका प्रत्येक प्रदेशका एक÷एक जना गरी हुने सात सदस्यमध्ये दुई जनाको दुई, अर्का दुई जनाको चार र थप दुई जनाको ६ वर्षको कार्यकाल हुनेछ । एक जनाको कार्यकाल शून्य वर्ष कायम गरिनेछ । यस्तै अपाङ्गता वा अल्पसङ्ख्यक समुदायबाट प्रतिनिधित्व गर्ने सात सदस्यमध्ये पनि दुई जनाको दुई वर्ष, अर्का दुई जनाको चार र थप दुईको ६ वर्षको कार्यकाल हुनेछ । बाँकी एकको कार्यकाल शून्य वर्ष मानेर लगत कायम गरिनेछ ।

 

यसरी दलित र अल्पसङ्ख्यक वा अपाङ्गता भएकाको क्षेत्रबाट प्रतिनिधित्व गरी शून्य लगत कायम गरेका दुई जनाबीच गोला हालिनेछ जसमा एक जनाको कार्यकाल चार वर्षको र अर्को एक जनाको कार्यकाल ६ वर्ष कायम हुनेछ । गोलाप्रथा गर्दा सदस्यलाई वर्णानुक्रमअनुसार चिट्ठा तान्ने व्यवस्था गरिएको छ ।

 

चिट्ठा तान्नका लागि सदस्य स्वंयम उपस्थित नभएको अवस्थामा अख्तियार प्राप्त व्यक्ति उपस्थित हुनुपर्नेछ । अख्तियार प्राप्त व्यक्ति पनि उपस्थित नभएमा संघीय संसद् सचिवालयले सचिवालयकै कर्मचारी मार्फत् गोला तानेर कार्यकाल यकिन गर्न सक्नेछ । यसरी तोकिएको सदस्यको कार्यकाल जानकारीका लागि प्रकाशित हुनेछ । गोलाप्रथामा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको नाम पनि सामेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *