जेठ २९, काठमाडौँ । मन्त्रालयले खटाए पनि तोकिएको कार्यक्षेत्र नगएका कर्मचारीलाई २४ घण्टाभित्र रमाना दिएर हाजिर हुन पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार १७ मन्त्रालय र योजना आयोगलाई ताकेता पत्र पठाएको खबर आजको कान्तिपुरमा छ ।

संघीय मामिल तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निर्णयअनुसार सचिव शंकरप्रसाद कोइरालाले सोमबार १७ मन्त्रालयका सचिवलाई ताकेता पत्र पठाएका हुन् ।
विभिन्न मितिमा निर्णय गरी प्रदेश र स्थानीय तहमा खटाउने निर्णय भए पनि धेरै कर्मचारी कार्यक्षेत्रमा नपुगेको गुनासो आएपछि सामान्यले फेरि मन्त्रालयहरूलाई ताकेता गरेको हो ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहमा खटिएका कर्मचारीलाई रमाना दिएर कार्यक्षेत्रमा खटाउन पटक–पटक मन्त्रालयहरूको ध्यानाकर्षण गराउँदै आएका थिए ।








