असार १, काठमाडौँ । ६ किमी हाराहारी क्षेत्रफलमा फैलिएको सिंगो भित्री सहर । सहर छिर्नेबित्तिकै भेटिन्छ, मौलिकता कला संंस्कृति । दुई तलेसम्मका एकैनासे घर । प्रत्येक घरको छानोमा झिंगटी र बाहिरपट्टि कलात्मक काठ र इँटा । चोकचोकमा नेवार समुदायको संस्कृति र रहनसहन झल्कने कलाहरू ।
निर्माण कार्यले चुस्तता पाए केही वर्षपछि भक्तपुरको मुख्य सहर (भित्री सहर) यस्तै बन्ने छ । नगरपालिकाको १ देखि १० नम्बर वडा सांस्कृतिक सहरभित्र पर्नेछन् ।
त्यतिबेला पुरानो सहरको लोभलाग्दो रूप धेरैको लागि उदाहरणीय बन्नेछ । नेपालमा मात्रै नभएर बाहिरी देशहरूमा पनि चर्चा हुनेछ, भक्तपुरको मौलिक सहरबारे ।
अहिले सहरको मौलिकता फर्काउन र पुरानै शैलीमा पुनर्निर्माण गर्न नगरपालिका तातेको नागरिक दैनिकमा समाचार छ ।
स्थानीय पनि सरकारी निकायलाई सघाएर अघि बढ्न लागेका छन् । सबैतिर पुराना सहरको मौलिकता खोसिँदै गर्दा भक्तपुरले भने पुराना सहरको आधुनिक सपना बुनेको देख्दा उनीहरू गद्गद् छन् । ‘यो क्षेत्रको विशेषता नै बेग्लै छ, कतिपयले पुराना मौलिकता मेटाएर आधुनिक सहर बनाउनुपर्छ भनेर भाजो हाले,’ स्थानीय सुरवीर नकर्मीले भने, ‘भक्तपुर सहर यहाँका स्थानीयको मात्रै होइन, यो नेपालकै धरोहर हो, यसको मौलिकता जोगाउनु सबैको दायित्व हो ।’








