असार १७, काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलमा उरुग्वे र फ्रान्सले क्वाटरफाइनलको टिकेट सुरक्षित गरेका छन् । फ्रान्सले अर्जेन्टिनालाई ४–३ र राती भएको खेलमा उरुग्वेलाई पोर्चुगललाई २–१ ले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् ।

फ्रान्सका १९ वर्षीय एमबाप्पेको दुई गोल मेस्सीको टिमलाई दोस्रो चरणबाटै घर फर्काउन महत्वपूर्ण रह्यो । शनिबार कजान मैदानमा भएको थ्रिलिङ म्याचमा मेस्सीले गोल पनि गर्न पाएनन् । उनले यो विश्वकप भरका चार म्याचमा नाइजेरियाविरुद्ध एक गोलमात्रै गर्न पाए ।

अर्जेन्टिनाले मध्यान्तरपछि नौ मिनेटसम्म अग्रता लिएको थियो । तर युवा खेलाडी एमबाप्पेले चार मिनेटको अन्तरमा गरेका दुई गोलले मेस्सीको टिमलाई स्तब्ध बनायो ।
उता कभानीले ७ औँ र ६२ औँ मिनेटमा गरेको गोलसँगै उरुग्वेले पोर्चुगललाई घर फर्कन बाध्य गरायो ।
पहिलो खेलमै ह्याट्रिक गरेका रोनाल्डो प्रतियोगितासँगै गोल्डेन बुटको दावेदारीबाट पनि बाहिरिएका छन् । स्टार खेलाडी मेस्सी र रोनाल्डो दुवैको यो अन्तिम विश्वकप हुनसक्छ ।

खेलको सातौँ मिनेटमा कभानीले गोल गरी उरुग्वेलाई अग्रता दिलाएका थिए । मध्यान्तरपछि ५५ औँ मिनेटमा पेपेको गोलले पोर्चुगललाई राहत दिएको थियो । तर सात मिनेटमै पुनः कभानीले गोल गरी उरुग्वेको अग्रता कायम राखे । पोर्चुगलले गोल फर्काउन गरेका कयौँ प्रयास खेर गयो ।
यससँगै असार २२ गते शुक्रबार हुने क्वार्टर फाइनलमा फ्रान्स र उरुग्वे भिड्ने छन् ।







