२० जेठ २०८३ , बुधबार

यसकारण टाट पल्टियो साझा प्रकाशन

असार २३, काठमाडौँ । आजको नयाँ पत्रिका दैनिकले साझा प्रकाशन टाट पल्टिएको समाचारलाई मुख्य प्राथमिकता दिएर छापेको छ ।

 

समाचारमा लेखिएको छ– सिसा चर्केका भवन । लेउ जमेका भित्ता । गोदाममा अस्तव्यस्त पुस्तक । भत्किएका भित्ता छेडेर उम्रिएका पीपल । परिवार बसाइँ सरेको घरमा जस्तै सन्नाटा छ, साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोकमा । एक सय पाँचवर्षे लामो र गौरवशाली इतिहास बोकेको संस्था जीवन र मरणको दोसाँधमा छ ।

 

एक समय साझाबाट पुस्तक छाप्न साहित्यकार पाण्डुलिपि बुझाएर वर्षौँ पालो पर्खिएर बस्थे । त्यही साझा अहिले लेखकबाट पाण्डुलिपि माग्नुपर्ने अवस्थामा पुगेको छ । ०६५ सम्म खातामा दुई करोडभन्दा बढी आम्दानी रहेको साझाले राष्ट्रिय सहकारी बैंकको ४ करोड ६० लाख ऋणको ब्याज तिर्न नसक्दा केन्द्रीय कार्यालय नै लिलामी हुने अवस्थामा पुगेको थियो । तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले ऋण र अनुदान गरी ३० करोड दिएपछि लिलामीबाट मुस्किलले जोगियो ।

 

साझाका अध्यक्ष र प्रबन्ध निर्देशक ठुल्ठूला भ्रष्टाचारका मुद्दामा मुछिए, निलम्बनमा परे । साझामा ताण्डव नृत्य मच्चियो ।

 

त्यस्तो समृद्ध साझा यो हालतमा किन पुग्यो त ? साझाका अध्यक्ष तथा प्रबन्ध निर्देशक डोलिन्द्रप्रसाद शर्माले रोचक जवाफ फर्काए । आफ्नो कुर्सीतर्फ देखाउँदै साझाको दुरावस्थाको कारणबारे उनले भने, ‘यो कुर्सीमा बस्न आउने भ्रष्ट मनोवृत्तिका भएर साझा यो हालतमा पुगेको हो ।’

 

उनै शर्मालाई ०७४ असोजमा सरकारले अनियमितताको आरोपमा निलम्बन गरेको थियो । सर्वोच्च अदालतको आदेशले उनको पुनर्बहाली भयो । उनका अनेक प्रकरण सार्वजनिक भए । शर्माभन्दा अघिल्लो कार्यकालकी अध्यक्ष तथा महाप्रबन्धक ममता झा पनि त्यसैगरी विवादमा तानिइन् । गाडी, कागज खरिद, छपाइ मेसिनलगायतमा अनियमितता गरेको उनीमाथि आरोप थियो ।

 

कवि विप्लव प्रतीक साझाको दुरावस्था आउनुमा राजनीतिक दलको अदुरदर्शीतालाई प्रमुख कारण मान्छन् । ‘राजनीतिक दलमा साझाजस्ता संस्था चलाउनेभन्दा पनि यसलाई भर्तीकेन्द्र बनाउने ध्याउन्न हाबी भयो, उनीहरू पावर पोलिटिक्समा यति व्यस्त भए कि राज्यको संरचनामा के भइरहेको छ भनेर ध्यानै दिन सकेनन्,’ उनी भन्छन्, ‘बहुदलअघि कर्मचारीहरू राजाकै भए पनि त्रासमा थिए । त्यसपछि कसैले कसैको डर मान्नुपर्ने अवस्था आएन । साझाको पनि अवस्था त्यही हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *