असार २४, जाजरकोट । शिक्षासम्बन्धी प्रतिवेदन मन नपरेपछि जाजरकोट कुसे गाउँपालिका अध्यक्षले प्रतिवेदन तयार पार्ने कर्मचारीलाई कार्यालयमै कुटपिट गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।
गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले शुक्रबार शिक्षा तथा खेलकुद शाखाका स्रोतव्यक्ति कमल बस्नेतलाई कुटपिट गरेका हुन् ।
शिक्षाको गुणस्तर उकास्नका लागि गाउँपालिकाले स्रोतव्यक्ति कमललाई अध्ययन प्रतिवेदन तयार गर्न लगाएको थियो ।
प्रतिवेदनमा उनले विद्यालय नपढाउने, काम नगर्ने, छात्रवृत्ति वितरण नगर्ने शिक्षक र विद्यालयको सूची तयार पारेका थिए । सूचीमा अध्यक्ष हरिचन्द्रकै आफन्त देखिएपछि प्रतिवेदन तयार गर्ने व्यक्तिलाई नै कुटपिट गरिएको हो ।








