साउन ६, काठमाडौँ । मिसन फस्ट ओडिआई र लर्ड्समा ट्राई सिरिज खेल्नका लागि युरोप टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा ह्याम्पसायर हग्स क्रिकेट क्लबविरुद्ध २४३ रनको फराकिलो जित हात पारको छ ।
शनिबार भएको खेलमा कप्तान पारसले १६१ रनको शतकीय पारी खेले । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३६२ रन बनाएको थियो । जवाफमा ३६३ रनको लक्ष्य पछ्याएको घरेलु क्लब ३७.१ ओभरमा ११९ रनमै अलआउट भयो ।
ह्याम्पसयारलाई अलआउट गर्न नेपालका ललित नारायण राजवंशीले सर्वाधिक ५ विकेट लिए । यस्तै सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २–२ तथा करण केसीले १ विकेट लिए । ह्याम्पसायरका लागि ह्यारी पिसरले सर्वाधिक ३३ रन बनाए ।
नेपालले दोस्रो अभ्यास खेल सोमवार सेन्ट क्रससँग खेल्नेछ । उक्त खेल टी–२० फर्म्याटको हुनेछ ।







