साउन १२, काठमाडौँ । कैदी–बन्दीले कारागारभित्र यौनसम्पर्क गर्ने सुविधा छिट्टै अधिकारका रूपमा पाउने भएका छन् ।

कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा पुगेको समाचार नागरिक दैनिकमा छ । यसका लागि कार्यविधि बनाई निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याइँदैछ ।
यसै वर्षभित्रबाट प्रजनन सम्बन्धि हक सुनिश्चित गर्ने गरी कैदी बन्दी वा तिनका प्रमाणित पति वा पत्नीसँग यौन सम्पर्क गर्न छुट दिने कार्यविधि मस्यौदालाई अन्तिम रूप दिन लागेको कारागार व्यवस्था विभागले जनाएको छ । यसका लागि सबै कोणबाट अध्ययन गरेर मस्यौदालाई अन्तिम रूप दिइने विभागका महानिर्देशक हरिप्रसाद मैनालीले बताए । ‘पारिवारिक भेटका लागि कार्यदिशा बनाएर यस वर्षभित्र कार्यान्वयन गर्ने गरी तयारी भइरहेको छ,’ मैनालीले भने ।








