साउन १७, हरारे । जिम्बाबेको राजधानी हरारेमा विरोध प्रदर्शनका क्रममा भएको मुठभेडमा प्रहरीको गोली लाग्दा ३ प्रदर्शनकारीको ज्यान गएको छ ।

बीबीसीका अनुसार विपक्षी गठबन्धन एमडीसीले गत सोमबार भएको राष्ट्रपतीय निर्वाचनमा सत्ताधारी जानू–पीएफले धाँधली गरेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएको हो ।
राष्ट्रपतीय निर्वाचनको नतिजा अहिलेसम्म सार्वजनिक नभए पनि सत्ताधारी पार्टीले अग्रता लिएको खबरमा उल्लेख छ ।

यस्तै संसदीय चुनावको मतगणनामा सत्ताधारी पार्टीले १ सय ३२ सिटमा जित हात पार्दै अग्रता लिइसकेको छ । विपक्षी गठबन्धनले भने ५९ सिट मात्र अहिलेसम्म हात पारेको छ । गत सोमबार भएको निर्वाचनमा करीब ५० लाख मतदाताले मतदान गरेका थिए ।








