साउन २२, काठमाडौँ । नयाँ पत्रिका दैनिकमा छापिएको समाचार अनुसार भक्तपुरको काँडाघारीस्थित हाइल्यान्ड स्कुलमा कक्षा ६ मा पढ्ने निशान खड्काको अपहरणपछि हत्या गर्ने दुवै आरोपीलाई प्रहरीले इन्काउन्टरका नाममा गिरफ्तारपछि मारेको छ ।

निशानकी आमा ज्यामिरे–९ सिन्धुपाल्चोक घर भएकी चमेलीले सात वर्षदेखि काँडाघारीमै चिया पसल चलाउँदै आएकी छिन् भने उनका श्रीमान् मलेसियामा मजदुरी गर्छन् ।
सोही चिया पसलका नियमित ग्राहक गोपाल तामाङ र उनका साथी अजय तामाङले बालकको अपहरणपछि आईतबार राती हत्या गरेको प्रहरीले पत्ता लायो । दुबै समातिए । दुवै आरोपीलाई गाडीमा राखेर लगिएको थियो । सोमबार दिउँसो १ बजे खबर आयो, ‘घ्याम्पेडाँडामा प्रहरीसँगको मुठभेडमा दुई अपहरणकारीको मृत्यु ।’
अपहरणकारी इन्काउन्टरमा मारिएको खबरले सामाजिक सञ्जालमा उत्साह जाग्यो । प्रहरीलाई फेसबुक र ट्विटरमा सलाम ठोकेर प्रशंसा पनि गरियो । यसले ‘हिरोइज्म’ जमाउने प्रहरी अधिकारीको महत्वाकांक्षा पूरा भएको छ । तर, बालकलाई किन बचाउन सकिएन भन्ने मूल विषय ओझेलमा परेको छ । प्रहरीले आरोपीलाई गिरफ्तार गरेको ठाउँभन्दा ११ किलोमिटर टाढा जंगलमा लगेर इन्काउन्टरको नाममा मार्दा अपहरण र हत्याको उद्देश्य के थियो भन्ने विषयको अनुसन्धान स्वतः कमजोर भएको टिप्पणी समाचारमा छ । किनकि, अपहरण र हत्या किन गरिएको थियो भनेर बयान दिन सक्ने दुवैजना मारिएका छन् ।








