साउन २५, काठमाडौँ । सरकारले अब ६ प्रकारको पासपोर्ट जारी गर्ने भएको छ ।
हाल सरकारले कूटनीतिक (रातो), विशेष (निलो), साधारण (हरियो) र यात्रा अनुमति पत्र (कालो) गरी चार प्रकारका राहदानी जारी गर्ने गरेको छ ।
अब थपिने दुई प्रकारका राहदानीमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् ।
कान्तिपुर दैनिकमा छापिएको समाचारअनुसार सरकारले संसदमा पेश गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
विधेयकमा कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई ‘सर्भिस पासपोर्ट’ दिने व्यवस्था गरिएको छ । पानीजहाजमा काम गर्नेहरुका लागि साधारण हरियो पासपोर्टसँगै ‘सिम्यान्स पासपोर्ट’ का रुपमा लग बुक उपलब्ध गराइने प्रस्ताव छ ।








