साउन २५, विराटनगर । प्रदेश १ सरकारको बिदा निर्णय अस्वीकार गर्दै कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरेपछि कर्मचारी कसको मातहतमा छन् भन्ने प्रश्न उठेको नागरिक दैनिकले समाचार लेखेको छ ।

प्रदेश सरकारले बिहीबार आदिवासी दिवसका अवसरमा प्रदेशस्तरमा सार्वजनिक बिदा घोषणा गरेको थियो ।
आदिवासी दिवसमा प्रदेश सरकारले दिएको बिदा अस्वीकार गर्न कर्मचारीलाई संघीय गृह मन्त्रालयका उच्च अधिकारीले नै उकासेको पनि खुलेको छ ।
संघीयता कार्यान्वयन सुरु भएदेखि नै केन्द्रको निर्देशन मात्रै मान्ने बताउँदै आएका कर्मचारीले प्रदेशको निर्देशन अवज्ञा गरेर नयाँ संरचनाप्रतिको अविश्वास व्यवहारतः प्रकट गरेका हुन् ।








