काठमाडौ , २० जेठ– निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुन: मतदान गराउने निर्णय गरेको छ । आयोगले ‘मत गणना स्थल कब्जामा लिइएको र मतपत्र च्यातेर रणभूमि’ बनाइएको उल्लेख गर्दै पुनः मतदान गराउने निर्णय गरेको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई अनुकुल समय हेरेर मतदानको मिति तोक्न पत्र मार्फत निर्देशन दिएका छन् । मतगणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिहरु मधु न्यौपाने र द्रोण सिवाकोटीले मत पत्र च्याते पछि गणना स्थगित भएको थियो । प्रहरीले तत्कालै उनीहरुले ५ वटा मतपत्र च्यातेको जानकारी गराएको थियो । यस बारेमा निकै विवाद भएपछि आयोगले छानवीन समिति बनाएर गणनास्थल खटाएको थियो । समितिले गनिसकेको र गन्न बाँकी रहेको गरी ९० वटा मतपत्र च्यातिएको प्रतिवेदन बुझाएको थियो । आयोगले त्यही घटनालाई रणभूमिको रुपमा प्रस्तुत गरेको छ ।
आयोगले पुनः मतदान गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्ष एमाले आक्रोसित बनेको छ । एमालेको संसदीय दल सिंहदरवारमा शनिवार बसेको स्थायी समिति बैठकले आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको छ । एमालेले पछिल्लो समय च्यातिएका ९० वटा मत लाई बदर मानेर बाँकी मत गन्नुपर्ने बताउँदै आएको थियो । तर आयोग तयसलाइृ वास्ता नगरी मतदान गर्ने निर्णय लिएको हो । आयेग र एमालेको फरक फरक निर्णयले भरतपुरको अवस्था तनावग्रस्त हुन सक्ने स्थिति देखिएको छ ।








