प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बुढेसकालको सहारा भएको बताएका छन्। बृद्धभत्ता आफ्नो पार्टीले ल्याएको बताउँदै उनले अन्य पार्टीलाई ‘काम नलाग्ने’ को संज्ञा दिएका हुन्।
सोमबार एमालेका तर्फबाट मेयरका उमेद्वार विद्यासुन्दर शाक्यको घोषणापत्र लगनटोलमा सार्वजनिक गर्दै ओलीले आफ्नो पार्टीले चुनाव जितेपछि स्वदेशी उत्पादनलाई प्राथमिकता दिने दाबी गरे। ‘बाँसबारी छाला जुत्ता कारखाना बेचेपछि हामी विदेशी जुत्ता लगाउन बाध्य छाैँ, भृकुटी कागज कारखाना बेचेपछि हामीले घोषणापत्र छाप्न पनि विदेशी कागज प्रयोग गर्नुपरेको छ। यो अवस्था रहेमा देश बन्दैन’, उनले भने,‘पूर्वपश्चिम रेल, उत्तर दक्षिण रेल, काठमाडौं पोखरा रेल, काठमाडौंमा मेट्रो, चक्रपथको विस्तार, बाहिरी चक्रपथको विस्तार, लोडसेडिङ अन्त्य गर्ने यी सबै काम हामीले ल्याएका हौं।’
कार्यकर्तालाई उमेद्वारको बिषयमा कुनै गुनासो नगर्न अनुरोध गर्दै ओलीले कम खाएर, कम सुतेर भएपनि एमालेको चुनावी अभियानमा ‘तुफानी वेग’ का साथ खट्न अपिल गरे।
कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका उमेद्वार विद्यासुन्दर शाक्यले आफुले काठमाडौंलाई सम्पन्न र समृद्ध बनाउनका लागि उमेद्वारी दिएको जिकिर गरे।








