०५ चैत २०८२ , बिहिबार

विदेशी निम्तो पत्र हराएपछि एमाले कर्मचारीमा खैलाबैला

काठमाडौं २६ जेठ– एमाले निकट नेपाल निजामती कर्मचारी संगठनमा यतिखेर खैलाबैला मच्चिएको छ । दक्षिण अफ्रिकाको डर्वानमा रहेको कर्मचारी युनियनले संगठनलाई पठाएको निम्तोपत्र चोरी भएपछि त्यसले रडाको मच्चाएको हो  । निम्तो पत्र संगठनकै पूर्वअध्यक्ष पुण्यप्रसाद ढकालले चोरी गरेको संगठनका अन्य पदाधिकारीहरुले आरोप लगाएका छन् । प्राप्त जानकारी अनुसार दक्षिण अफ्रिकाको नेशनल एजुकेशन हेल्थ एण्ड एलाइड वर्कर्स युनियन(नेहाव)को अधिवेशनमा नेपाल निजामती कर्मचारी संगठनलाई निम्ता आएको थियो । जुन ३० देखि ३१ सम्म हुने नेहावको ११ औं अधिवेशनमा संगठनलाई पठाएको निम्ता पूर्वअध्यक्ष पुण्य ढकालको इमेल ठेगानामा नाममा आयो । नेहावमा पूर्वअध्यक्ष पुण्य ढकालको इमेल ठेगाना भएकाले त्यसमै निम्तो आएको संगठनको भनाइ छ । ढकालले नेपालमा निजामती कर्मचारी संगठन नै नभएको र आधिकारिक ट्रेड युनियन (सीबीए) मात्र भएको, त्यसको अध्यक्ष आफूमात्र भएकाले सीबीएकै नाममा निम्तो पठाउन अनुरोध गर्दै नेहावलाई पत्र लेखे । बाबु जीवीत हुँदाहुँदै छोराले सम्पत्ति खान मरेको भनेर झुटो ब्यहोरा मालपोत कार्यालयमा पेश गरी बुझाएजस्तै विदेश जानका लागि ढकालले आफ्नो माउ संगठन नै अस्तित्वमा नरहेको पत्र नेहावलाई लेखेका छन् जुन संगठनबाट उनी सीबीएमा अध्यक्ष भएका हुन् ।
ढकालको पत्रपछि नेहावले अन्य दुईजनालाई पनि निम्तो पठाएको थियो । त्यो निम्तो ढकालले चार दिनअघि सम्पन्न सीबीएको बैठकमा पेश गरेको संगठनका पदाधिकारीहरु बताउँछन् । नेहावको सम्मेलनमा जानका लागि उपाध्यक्ष भोला पोखरेलले अध्यक्ष ढकाल र सदस्य विश्वबन्धु रेग्मीको नाम प्रस्ताव गरे । त्यही नाम अनुमोदन गरिएको छ । सदस्य रेग्मी नेपाली कांंग्रेस निकट नेपाल निजामती कर्मचारी संघबाट सीबीएमा प्रतिनिधित्व गर्दैआएका छन् ।  नेहाव विशुद्ध कम्युनिष्टहरुको संगठन भएको तर कांग्रेसनिकट रेग्मीलाई समेत सम्मेलनमा लान लागेको निर्णय संगठनमा पुग्यो र त्यसले संगठनमा खैलाबैला मच्चाएको हो । नेहावले यो कुरा थाहा पाउनासाथ सीबीए अध्यक्ष ढकालको कार्यशैलीप्रति आपत्ति जनाउँदै जुन ७ तारिख(२०७४ जेठ २४ गते) सीबीएलाई नबोलाएको उल्लेख गर्दै अर्को पत्र पठाएको छ । संगठनका महासचिव रेवन्त गौतमलाई सम्बोधन गरिएको उक्त पत्रमा निजामती कर्मचारी संगठनलाई बोलाएको हो, सीबीएलाई आफ्नो सम्मेलनमा बोलाउन नचाहेको उल्लेख छ । संगठनले आफ्नो अधिवेशनमा नेहावलाई बोलाउने गरेको छ ।  नेहावले आफ्नो अधिवेशनमा संगठनलाई बोलाउने गरेको छ । नेहाव विशुद्ध कम्युनिष्ट पार्टी समर्थक ट्रेड युनियन हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *