०४ चैत २०८२ , बुधबार

महिला पत्रकारका ‘बाइलाइन’ ओझेलमा रहेको तथ्याङ्क सार्वजनिक

 

काठमाडौँ, ५ भदौ । नेपाली छापा सञ्चारमाध्यममा महिलाका ‘बाइलाइन’ समाचार दश प्रतिशत मात्र आउने गरेको एक अध्ययनले देखाएको छ ।

नेपाली र अंग्रजी भाषाका नौ दैनिक पत्रिकाका छ महिनासम्मका समाचार अध्ययन गरी फ्रिडम फोरम नामक संस्थाले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

फोरमका मिडिया अनुगमन संयोजक नानुमैयाँ खड्काले बाइलाइनका साथै समाचारमा उल्लेख गरिने समाचार स्रोतमा समेत महिलाको नाम निकै कम प्रयोग हुने गरेको बताउनुभयो ।

कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका र गोरखापत्र दैनिक तथा अंग्रेजीमा दि काठमाडौँ पोष्ट, दि राइजिङ नेपाल, रिपब्लिका र दि हिमालयन टाइम्सका विभिन्न पृष्ठका समाचारमा महिलाको बाइलाइन, समाचारमा उल्लेखित स्रोतमा महिलाको भनाइलगायतका विषयलाई अध्ययनमा समेटिएको थियो ।

छ महिनामा २७० पत्रिकाका दुई हजार १६० समाचार अध्ययन गरिएको संयोजक खड्काले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘ती समाचारमा ९०.४ प्रतिशत पुरुषलाई स्रोतका रुपमा उल्लेख गरिएको छ भने प्रमुख समाचार अधिकांश राजनीतिक विषयका हुने र त्यसमा पनि महिलालाई स्रोतरुपमा नगन्य मात्रामा उल्लेख गरिएको छ ।’’

अध्ययनका क्रममा क्रमशः राजनीतिक, विज्ञान, प्रविधि, सामाजिक, कानुन, अपराध हिंसालगायतका समाचारलाई महत्व दिइएको पाइएको छ ।

रिपब्लिका दैनिकका सम्पादक थिरलाल भुषालले नेपाली सञ्चारमाध्यममा महिलाको उपस्थिति नै कम भएकाले स्वभाविक रुपमा बाइलाइन कम आउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामीकहाँ राजनीतिक समाचार लेख्ने महिला पनि निकै कम हुुनुहुन्छ, धेरैजसो पत्रिकाका पहिलो पृष्ठका समाचार राजनीतिक विषय नै बन्ने भएकाले महिलाको बाइलाइन कम हुन्छ, तर अन्य विषयमा भने महिलाको राम्रो उपस्थिति रहेको छ ।’’

हिमालय टाइम्स दैनिकका सम्पादक गोविन्द लुइँटेलले राजनीतिक समाचार लेख्दा लामो समयसम्म खट्नुपर्ने भएकाले र नेपालको सामाजिक र पारिवारिक कारणले पनि यो विषयमा महिला पत्रकार कम हुने धारणा राख्नुभयो ।

उहाँले समाचार स्रोतका रुपमा उल्लेख गर्ने अधिकांश पद जस्तै प्रवक्ता, सूचना अधिकारी, प्रमुख सचेतकमा पुरुषको बाहुल्यता रहेकाले पनि महिला कम स्रोतका रुपमा प्रयोग भएको स्पष्ट पार्नुभयो ।

पत्रकार रमा लुइँटेलले धेरै महिला पत्रकारले सामाजिक, आर्थिकलगायतका विषयमा बढी समाचार लेख्ने र ती समाचार भित्री पेजमा स्थान दिइने भएकाले पहिलो पृष्ठमा महिलाका बाइलाइन समाचार कम हुने बताउनुभयो ।

पत्रकार विद्या राजपुतले पछिल्लो समयमा समाचारमा मात्र नभई तस्विरमा समेत महिला पत्रकारका फोटो पहिलो पृष्ठमा आउने गरेको भन्दै उनीहरूको उपस्थितिलाई पनि अध्ययन गरिनुपर्ने सल्लाह दिनु राख्नुभयो ।

फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारीले अध्ययनका समयमा अर्थ, मनोरञ्जन, विचारलगायतका समाचारलाई समावेश नगरिएको बताउनुभयो । रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *