काठमाडौं । सरकारले हावाबाट विजुली निकाल्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले डेनमार्कको भेटास वाइन्ड सिस्टम ए/एस कम्पनीलाई हावाबाट बिजुली निकाल्न सम्भाव्यता अध्ययनको जिम्मेवारी दिएको हो ।
यस अघि पुर्व प्रधानमन्त्री केपी ओलीले हावाबाट विजुली निकाल्ने भन्दै भाषण गर्दा चर्काे आलोचना भएको थियो । प्रचण्ड सरकारले डेनमार्कको सो कम्पनीलाई भारतीय कम्पनीसँगको ज्वाइन्ट भेञ्चरमा अध्ययन गर्ने जिम्मेवारी दिएको हो । आगामी १५ महिना भित्र सम्भाव्यता अध्ययनको रिपोर्ट बुझाउने गरि अनुमति दिईएको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त बाग्लेले बताए । ‘एक बर्षसम्म हावाको गति नाप्ने र त्यसको ३ महिना भित्र सम्भाव्यताको रिपोर्ट बुझाउने गरि अनुमति दिएका हौं’, लगानी बोर्डका प्रवक्ता वाग्लेले विकासन्युजसँग भने ।
भेटास वाइन्ड सिस्टमले आफ्नै लगानीमा हावाबाट विजुली उत्पादनको सम्भाव्यता अध्ययन गर्नेछ । लगानी बोर्डका प्रवक्ता वाग्लेका अनुसार भेटास वाइन्ड सिस्टमलाई हावाबाट विजुली उत्पादन गर्ने राम्रो कम्पनी मानिन्छ ।‘उपकरण निर्माणको आफ्नै कारखाना भएको र संसारका धेरै मुलुकमा हावाबाट विद्युत उत्पादन गरिसकेको कम्पनीले प्रस्ताव गरेपछि अध्ययनको अनुमति दिएका हौं’, वाग्लेले भने ।
भेटास वाइण्ड सिस्टमले सन २०१७ को पहिलो तीन महिनामा १८८५ मिलियन युरो आम्दानी गरेको देखिन्छ । यो आम्दानी कम्पनीले सन २०१६ को पहिलो तीन महिनामा गरेको भन्दा २९ प्रतिशतले बढि आम्दानी गरेको देखिन्छ । कम्पनीले कर र ब्याज चुक्ता गर्नु आम्दानी २११ मिलियन युरो कमाएको छ जुन अघिल्लो बर्षको तुलनामा ११ दशमलब २ प्रतिशतले बढि हो ।
कोपन हेगन स्टक एक्सचेञ्जमा सूचिकृत भेटास वाइन्ड सिस्टमको सेयर मूल्य ७६ दशमलब २ युरो रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी ५ युरो रहेको छ । कम्पनीको चुक्ता पुँजी ३३०८ मिलियन युरो रहेको छ । अमेरिकाले भेटासलाई ३०० मेगावाट विजुली निकाल्न अनुरोध गरेको छ भने जर्मनीले भर्खरै ४५० मेगावाट विजुली हावाबाट निकाल्नका लागि आग्रह गरेको छ ।
कम्पनीले ७५ देशमा ८३ गिगावाट(८३ हजार मेगावाट) विजुली हावाबाट निकालीसकेको दावी गरेको छ ।








