गुल्मी २३ जेठ – दोस्रो चरणमा असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन् । मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन् । उम्मेदवार दुई दाजुभाइमध्ये दाजु यमबहादुर खत्री नेपाली काँग्रेस र भाइ ओमबहादुर खत्री नेकपा (एमाले)बाट उम्मेदवार बनेका हुन् ।
एकै घरका दुई दाजुभाइलाई एकै पदमा पार्टीले उम्मेदवार बनाएपछि उहाँहरुका आफन्त पनि दुईमध्ये कसलाई भोट दिने भनेर अन्योलमा परेका छन् । दुई भाइमध्ये दाजु यमबहादुर काँग्रेस बडागाउँको पार्टी सभापति हुन् । भाइ ओमबहादुर एमाले बडागाउँ गाउँ कमिटी उपाध्यक्ष हुन् । यसरी दुई भाइ एकै ठाउँबाट फरकफरक पार्टीबाट उम्मेदवार बनेपछि स्थानीय कसले बाजी मार्ला भनेर निकै चासोका साथ हेरिरहेका छन् । यी दुई दाजुभाइ गत दश वर्षअघि नेपाली सेनाबाट अवकाश पाएर फर्केपछि राजनीतिमा प्रवेश गरेका हुन् ।








