०२ मङि्सर २०८२ , सोमबार

“देश खोज्दै जाँदा”, “देश गुमाउनेहरुप्रति अर्पित शोकगाथा”

                                                                                     रुपक रिसाल

करिब चार सय बर्षको बसोबासको इतिहास भएका नेपालीहरुलाई, भुटान सरकारले सन् नब्बेको दशकबाट एक देश, एक जनताको नीति लागु गरि देश छाड्न बाध्य बनायो । नेपालीका किताबहरु जलाइए, धर्म संस्कृति मान्न रोक लगाइयो, बक्खु र किरा अनिवार्य पहिरन बनाइयो, र बिद्यालयहरुमा नेपाली पठन पाठन बन्देज गरियो । त्यसको बिरोध गर्दा हिंसा भड्कियो अनि सरकारी दमन सहन नसकी आफ्नो देश छाडेर उनीहरु पूर्बी नेपालका विभिन्न स्थानमा शरण लिन आइपुगे । कुनै समय लगभग १२०,००० सम्म भुटानी शरणार्थी नेपालमा झापा र मोरंगका विभिन्न शिविरहरुमा बसोबास गर्थे ।

 

देश गुमाएका ती नेपाली भाषी भुटानीहरु आफ्नो देशको माटोको अझै टिका लगाउँछन, स्वदेश फर्किन चाहन्छन । तर ती देश खोज्दै जानेहरु अन्त्यमा आफूले दशकौं बिताएका शरणार्थी शिविरका सम्झनाहरुलाई आँशुको तिलान्जली दिंदै बाध्यतावश तेस्रो देश पुनर्वास हुन पुग्दछन । झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा एउटा चोक छ, जहाँ तेस्रो देश पुनर्वास गर्न जानेहरु गाडी चड्छन । त्यहाँ आज पनि बिदाइ र बिछोडका आँशु बग्न छाडेका छैनन् । नतिजा, उक्त स्थानको नाम नै रुन्चे चोक हुन पुगेको छ । देश गुमाएका ती नेपाली मूलका भुटानीहरुलाई शरणार्थी समस्याको दीगो समाधान स्वरुप तेस्रो देश पुनर्वास गराउने प्रक्रिया थालिएको बेलाको कथा हो, देश खोज्दै जाँदा ।
विभिन्न देशहरुमा पुनर्वास भैसकेका पूर्व भुटानी शरणार्थीहरुनै निर्माताहरु रहेको यस चलचित्रमा प्रकाश आन्ग्देम्बेको कथा र निर्देशन रहेको छ भने पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् ।

 

यस चलचित्रले शरणार्थी समस्याको दीगो समाधान स्वरुप तेस्रो देश पुनर्वासनको प्रक्रिया सुरु हुँदा यसले उनीहरुको जीवनमा ल्याएको उतार चडावलाई एउटा फरक ढंगले देखाउन खोजेको छ । शरणार्थीहरुको जीवनमा नेपाल बसाइका सुरुका दिनहरु देखि आज पर्यन्त घटेका सबै घटनाहरु र उनीहरुको जीवन शैली देखाइएकोले चलचित्र यथार्थपरक छ । हेरुञ्जेल कतै कुनै कल्पनालोकतिर नउडाइ धरातलीय यथार्थमै टेकाएर दर्शकको ध्यान खिच्न चलचित्र सफल छ । एक घण्टा पैंतालिस मिनेटको चलचित्रमा झन्डै दुइ दशकको पूर्ण अभिलेख राख्न सम्भव हुँदैन, र पनि शरणार्थीहरुको तात्कालिक भोगाइहरु देखाउन निर्देशकले राम्रो प्रयास गरेका छन् ।

चलचित्रका मुख्य दुइ पात्र करबारी काका र बीरुको भूमिकामा क्रमशः हेमन्त बुढाथोकी र बाबु बोगटीले दमदार अभिनय गरेका छन् । मूलधारका यी दुइ कलाकार, हेमन्तले आफ्नो खलनायकी र बाबुले आफ्नो व्यवसायिक छबि पन्छाएर एउटा हेर्न लायकको अभिनय पस्केका छन् । अन्य कलाकार सबैले आफुले पाएको भूमिकामा राम्रो अभिनय गरेका छन् । चलचित्र सत्ताइस बर्ष शिविरमा बसिरहेका शरणार्थीहरुका अनगिन्ति कथाहरु मध्यको एउटा प्रतिनिधि कथा हो, जुन धीमा गतिमा तर सलल बगेको छ । छोटो भए पनि शान्ती र बीरुको प्रेमले एउटा शास्त्रीय नाटकका आदर्शवादी नायक नायिकाको प्रेमकथाको भल्को दिलाउँछ । करबारी काकाकी छोरी शान्ती, जो बीरुलाई भित्रभित्रै मन पराउँछे, काकाकी छिमेकी बहिनी माइली, जो आफ्नो छिमेकी दाजुको आग्रहलाई अटेर गर्दै पुनर्वास को प्रक्रिया सुरु गर्छे, बिद्रोहमा बीरुको सहयात्री साथीहरु लगायत कथाका चरित्रहरू धेरै भएपनि सबैले न्यायोचित भूमिका पाएका छन् । चलचित्रमा शरणार्थीहरुको दैनिकी, शिबिर बसाइको क्रममा स्थानियहरुसंग र शिबिरभित्रै बेलाबेला आइलाग्ने उल्झनहरूसंग दर्शकहरुलाई अभ्यस्त गराउंदै अन्त्यमा सबै प्रश्नहरुको उत्तर सांकेतिक र प्रभावकारी ढंगबाट देखाइएको छ । सायद आफैं साहित्यिक विधाहरुमा कलम चलाई सकेका भएर होला, चलचित्र हेरिसकेपछि एउटा गहकीलो कृति पढेपछिको झैं सोचनीय अनुभूति दिलाउन निर्देशक सफल भएका छन् । तर चलचित्रको मध्यान्तर पछि देखाइएको एउटा बिगतको घटना छ, जसले कथामा सांकेतिक रुपमा महत्वपुर्ण अर्थ राख्छ । कुनै साहित्यिक कृति हुँदो हो भने पाठकलाई जुनैबेला पनि त्यो घटना पढेपछि चलचित्रको समाप्ति पछि सन्तुष्टि नै अनुभूत हुन्थ्यो होला । तर चलचित्र निर्माणको सिद्धान्त अनुसार भने त्यो दृश्य महत्वपुर्ण भए पनि अलि जबर्जस्ति वा अनावश्यक स्थानमा घुसाइएझैं लाग्छ ।

 

भुटानी शरणार्थीहरुको नेपाल बसाइ संसारका प्रायजसो शरणार्थीहरुको भोगाइ भन्दा अलि पृथक छ । धर्म, संस्कृति, जाति, भाषा, सबै मिल्ने हुनाले उनीहरु र स्थानीयबीचको परस्पर सम्बन्ध अलि प्रगाढ छ । त्यसैले बिना अनुमतिपत्र शिबिर बाहिर काम गर्ने, नेपालीहरुसंग भागि मात्र हैन मागी पनि बिवाह गर्ने, एक अर्काको सांस्कृतिक कार्यक्रमहरुमा भाग लिने, यी सबै यथार्थहरु चलचित्रले समेटेको छ । शरणार्थी शिबिर भन्ने बितिक्कै तारबारले घेरिएको कुनै स्थानमा राष्ट्रसंघिय सुरक्षा घेरा भित्र बसेका, स्थानीय समुदाय भन्दा फरक किसिमका समुदायहरुमात्रै देखेका अन्तराष्ट्रिय दर्शकहरुलाई ती यथार्थहरुले अचम्मित तुल्याउन सक्छ । चलचित्रमा केहि दृश्यहरु जस्तै, छोराछोरीको प्रेम सम्बन्धलाई लिएर आमाहरु बीच हुने बादबिवाद, शान्त समुदायमा अचानक हुने हत्या हिंसाका घटनाहरु, शरणार्थी जीवनसंग अपरिचित दर्शकहरुलाई अलि नौला र अस्वाभाविक लाग्छन । प्रायस् दृश्यमा देखिने, उनकै वरिपरिमात्रै कथा घुम्ने, अरु पात्रहरु पनि उनीसंग सम्बन्धित भएर मात्र पर्दामा आउने भएर होला, चलचित्रमा करबारी काका अलि बढी नै हावी भएको भान हुन्छ ।

 

देश खोज्दै जाने शरणार्थीहरुको देशप्रेम र भावनात्मक रास्ट्रबाद, बिश्वब्यापी राजनीति र शक्तिरास्ट्रहरुको इच्छा सामु कति निरिह छ, यस चलचित्र हेरेर अनुभूत गर्न सकिन्छ । धेरथोर सत्य घटनामा आधारित यस चलचित्रको कथाका पात्रहरु झैं शिबिरमा धेरै भुटानी शरणार्थीहरु अझै स्वदेश फिर्तीको माग राखी आन्दोलनरत छन् । केहि शरणार्थीहरु कतै नगई नेपालमै मर्ने इच्छा राख्ने पनि छन् । नेपालमा मात्र नभएर संसारका विभिन्न देशका नागरिकहरु धेरै देशहरुमा स्वदेश फिर्तीको इच्छा राख्दै शरणार्थीको जीवन बिताईरहेका छन्, तिनीहरुको लागि भने यो चलचित्र आत्मसमर्पणवादी बन्न पुगेको छ । डिभी चिठ्ठा भर्न मरिहत्ते गर्ने आजका आम रास्ट्रवादि नेपाली नागरिकहरुको लागि चलचित्रमा देखाइएको शरणार्थीहरुको द्विविधा अचम्मका लाग्न सक्छन ।

चलचित्रका कथा, पटकथा, अभिनय, छायांकन, भेषभुषा र संगीतका पक्षमा र केहि दृश्यहरु जस्तै भुटान फर्किनको लागि शरणार्थीहरुले गरेको जुलुसमा निकै मेहेनत गरिएको छ, र निर्देशक स्वयमको ५ बर्षको अनुसन्धानको प्रतिफल स्वरुप चलचित्र राम्रो बनेको छ । नेपालका साहित्यकारहरुले चलचित्रको लागि पनि राम्रो लेखन गर्न सक्छन भन्ने उदाहरण यस चलचित्रले दिएको छ । मुलधार र अलगधारका यथेष्ट चलचित्रहरु बनिरहेका बेला र अनगिन्ति नराम्रा चलचित्रहरुको बाढिका बीच केहि समय अघि यो चलचित्र सिनेमा घरहरुमा प्रदर्शन भएको थियो । तर नेपाली चलचित्रलाई माया गर्नेहरुले अब हेर्ने कुनै मौका पाउनु भयो भने एउटा हेर्न लायकको सुन्दर सिर्जना छुटाइएछ भन्ने आभाष यो चलचित्रले अवश्य दिलाउने छ । सायद हेमन्त बुढाथोकीको जीवन्त अभिनयको प्रतिफल होला, चलचित्र हेरेको केहि दिनसम्म पनि दर्शकलाई करबारी काकाको अन्यौल र असहायताभाव मिश्रित अनुहारको झल्को आइरहने छ ।

लेखक चलचित्र समिक्षक हुन् । उनले भुटानी शरणार्थी सम्बन्धि मुद्दामा आधा दशकभन्दा लामो समय काम गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *