जेठ २३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रत्यक्ष निर्वाचित कार्यकारी शाषण प्रणाली बनाउने बहस सुरु भएको छ ।

करिब दुई तिहाइ बहुमत नजिक पुगेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको शासकीय स्वरूप परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाने सार्वजनिक अभिव्यक्तिसँगै यो विषयमा सतहमा आएको खबर आजको नागरिक दैनिकमा छ ।
पार्टी स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले संघीय समाजवादी फोरम सरकारमा आएसँग राष्ट्रपतीय प्रणालीको पक्षमा दुईतिहाइ पुगेको बताए । पूर्व नेकपा माओवादी प्रत्यक्ष कार्यकारी नछाडेको भन्दै उनले पूर्व एमालेमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीमा धारणा रहेको बताएका दाबी गरे ।
‘हाम्रो नीति, नारा, लक्ष्य, उद्देश्य नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हो । हाम्रो जस्तो देशका समृद्धि हासिल गर्ने हो भने प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ,’ पौडेलले भने, ‘माओवादीले कार्यकारी राष्ट्रपतिको धारणा कहिले पनि छाडेने र एमालेमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रहँदै आएको छ ।’
सरकारमा भर्खरै सामेल भएको संघीय समाजवादी फोरम नेपाल पनि प्रत्यक्ष कार्यकारीको पक्षमा रहँदै आएको छ । त्यसैगरी बाबुराम भट्टराईको नेतृत्वका रहेको नयाँ शक्ति नेपाल पनि प्रत्यक्ष कार्यकारीकै पक्षमा रहेको छ ।








