जेठ २३, काठमाडौँ । एनआइसी एसिया बैंकको सफ्टवेर ह्याक गरी विदेश रकमान्तर गर्ने समूह उत्तर कोरियाली ‘लजारुस ग्रुप’ भएको खुलेको छ ।

२०७४ कात्तिक ३ गते ४६ करोड ५६ लाख ५० हजार पाँच सय ५० रुपैयाँ ‘स्विफ्ट ह्याक’ गरी लजारुस ग्रुपले विदेशका विभिन्न बैंकमा पु¥याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानबाट पत्ता लागेको खबर आजको नयाँ पत्रिकामा छ ।
सिआइबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बैंक ह्याक गरी विदेशी बैंकमा रकम लैजाने उत्तर कोरियाली ह्याकर रहेको खुलेको बताए । ‘एनआइसी एसिया बैंक ह्याक गरी साढे ४६ करोड रुपैयाँ विदेशी बैंक लगिएको र त्यसमध्ये झन्डै सात करोड रुपैयाँ ह्याकरको हातमा परिसकेको विषयमा सिआइबीले अनुसन्धान ग¥यो’, उनले भने, ‘यस क्रममा बैंक ह्याक गर्ने समूह लजारुस ग्रुप रहेको खुलेको छ । यो अन्तर्राष्ट्रिय कुख्याती कमाएको ग्रुप हो । यसलाई ‘हिडेन कोब्रा’ पनि भनिन्छ । यसले संसारका अन्य बैंक र कम्पनी पनि ह्याक गरेको खुल्न आएको छ ।’
ह्याकरले दिएको रकम भुक्तानी अर्डर अधिकांश बैंकहरूले प्रक्रिया नपुगेको भन्दै रोकेपछि ती भने फिर्ता गर्न सफल भएको थियो ।







