जेठ २९, जनकपुर । प्रदेश नं. २ का नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश २ को नाम मधेस र भाषा हिन्दी तोके कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

आइतबार जनकपुरमा मैथिली विकास कोषले आयोजना गरेको ‘प्रदेशको नामकरण तथा भाषा’ सम्बन्धी बहसलाई सम्बोधन गर्ने क्रममा नेता यादवले नामकरण र सरकारी कामकाजको भाषा अविलम्ब टुंगो लगाउन माग गरेको खबर आजको नागरिक दैनिकमा छ ।
‘प्रदेशको नाम मधेस र भाषा हिन्दी हुनुपर्ने एकथरी आवाज सुनिँदैछ,’ यादवले भने, ‘मधेस नाम र हिन्दी भाषा दुवैप्रति हाम्रो स्पष्ट विमति छ । सरकारले यो प्रस्ताव ल्याए हामी कडा प्रतिवादमा उत्रिन्छौँ ।’
तत्कालीन माओवादी केन्द्र संसदीय दलका नेता रामचन्द्र मण्डलले प्रदेशको नाम मिथिला–भोजपुरा र भाषा मैथिली तथा भोजपुरी तोकिनुपर्ने विचार व्यक्त गरे ।
मिथिला र मैथिलीविरुद्ध कुनै तर्क नरहेको उल्लेख गर्दै मण्डलले थपे, ‘प्रदेशको भूगोल र बसोबास गर्ने भाषाभाषीले सम्मानित महसुस गर्नेगरी तथा मिथिला र भोजपुराको अस्तित्वको सम्मान हुनेगरी निर्णय हुनुपर्छ ।’








