असार १, काठमाडौँ । चीन भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब एक दर्जन सहमति र सम्झौता गर्ने भएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा चीनसँग करिब एक दर्जन विषयमा सहमति र सम्झौता हुने बताएको खबर आजको कान्तिपुर दैनिकमा छ ।
यस्ता छन् ती विषयहरू ः
– रसुवागढी–केरुङ र तातोपानी–खासा नाकामा पुल निर्माण,
– नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा सहकार्य,
– ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण,
– कृषिमा सरकारी तथा निजी साझेदारी र सातै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माण,
– खाद्यान्न ढुवानीका निम्ति तिब्बतका राजमार्ग उपयोग गर्न ८ वटा सीमा नाकाले पहुँच पाउनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर,
– केरुङ–काठमाडौं रेलमार्ग निर्माणका प्रक्रिया,
– दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना,
– भूकम्पपछि नेपालको पुनर्निर्माणका लागि चीन सरकारले उपलब्ध गराउने घोषित सहयोग रकमको उपयोग र कामलाई तीव्र रूपमा अघि बढाउनेबारे पनि छलफल,
– करिब एक हजार मेगावाट क्षमताको मनाङ–मस्र्याङ्दी क्यास्केट जलविद्युत् आयोजनामा चीनको निजी क्षेत्रले लगानी गर्ने विषयमाथि छलफल,
– नेपालको बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआईजी कम्पनीबीच मस्र्याङ्दीका विभिन्न स्थानमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने समझदारीमा हस्ताक्षर ।








