असार ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासलाई थप गति दिन छिमेकी राष्ट्र चीनको सहयोग आवश्यक रहेकाले आफू त्यहाँको भ्रमणमा जान लागेको जानकारी संघीय संसद्लाई गराएका छन् ।

चीनका प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणमा ओली मंगलबार छ दिने भ्रमणका लागि त्यसतर्फ जाँदै छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका अलगअलग बैठकलाई सोमबार आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीनसँग राष्ट्रिय प्राथमिकता र विकासका अजेन्डामा गम्भीर छलफल हुने बताएको समाचार नागरिक दैनिकमा छ ।
भारतसँग भएका सम्झौताबमोजिम विकासका लक्षण देखापरेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले अब चीनसँग पनि त्यसैगरी सम्झौता गरेर विकासको गतिलाई थप अघि बढाइने बताए ।
भ्रमण नेपालको हित र प्राथमिकतामा केन्द्रित हुने जानकारी गराउँदै उनले भने, ‘मेरो भ्रमणमा दुईपक्षीय रुपमा गरिने सम्झौतामा मुलुकको सर्वोत्तम हित र अहिलेको प्राथमिकतालाई ध्यान दिइने छ ।’








