असार ८, काठमाडौँ । तत्कालीन नेकपा एमाले महासचिव ईश्वर पोखरेल लगायत एक दर्जन प्रभावशाली नेताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा अझै हस्ताक्षर गरेका छैनन् । पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही प्रभावशाली नेताले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

केही सदस्यको हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटेको छ । एकताजस्तो ऐतिहासिक निर्णयमा हस्ताक्षर छुटाएको भन्दै पोखरेलसहितका नेताहरूलाई प्रक्रिया पूरा गर्न सुझाउँदै पार्टी केन्द्रीय कार्यालयले ताकेता गरिरहेको छ ।
हस्ताक्षर नगर्ने नेताहरूमा तत्कालीन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, तत्कालीन एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, तत्कालीन माओवादी केन्द्रको अनुशासन आयोगका अध्यक्ष अमिक शेरचन लगायत रहेका छन् ।








